२०८३ असार ५ शुक्रबार ००

सुर्खेत गोली काण्ड : भारतबाट ल्याइएको थियो सुटर

सुर्खेत ।

जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार राति वीरेन्द्रनगर–१ गैरीचोकमा पौने ९ बजे एक जना युवकलाई लक्षित गर्दै गोली प्रहार भएको थियो। नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका-२ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका-४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए। घटनामा संलग्न थप दुई जना फरार छन्। उनीहरूको खोजीकार्य जारी रहेको उनले बताए।

प्रहरीका अनुसार गोली प्रहार गर्ने योजनाअनुरूप राजन गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका-४ स्थित गणेश होटेलमा बास बसेका थिए। फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजना अनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा ३ जना सँगै बसेका थिए।

एक जना शंकित व्यक्तिले प्रतिवादीहरूलाई विनोद गिरीको घर ठेगाना लगायत सबै देखाएको र होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ।

शनिबार राति विनोद गिरीको गाडीलाई उनीहरूले मोटरसाइकलमा पिछा गरी वीरेन्द्रनगर नगरपालिका-१ स्थित गैरीचोकमा एक राउण्ड गोली प्रहार गरेका थिए। त्यसपछि उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो। घटनाका बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

निर्माण व्यवसायी विनोद गिरिले आफूमाथि योजनाबद्ध गरेर गोली प्रहार भएको बताएका छन्। उनले कामको सिलसिलामा बजारबाट घर फर्किने क्रममा एउटा मोटरसाइकलमा दुई जना अज्ञात व्यक्तिहरूले आफू हिँडेको दिशाबाट आएर गोली प्रहार गरी हत्या गर्न खोजेको बताएका छन्। गाडीको सीसा आफूमाथि आएकाले गोली नलागेको उनको भनाइ छ।

मोटरसाइकल गाडीभन्दा अगाडि भएकाले गाडीले ठक्कर दिँदा गोली प्रहार गर्नेहरू पेस्तोलसहित पक्राउ पर्न सफल भएको उनले बताए।

२०८० फाल्गुन १३, आईतवार २१:१३ गते 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।