काभ्रेपलाञ्चोक ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले आज दिनको २ः३० बजेदेखी धुलिखेल खावा सडकमा अनशन सुरु गरेका छन । अरनिको राजमार्गअन्तर्गत धुलिखेल खावा सडकको निर्माण कार्यमा ढिलासुस्ती भएको र आम नागरिकले दुःख पाएको भन्दै उनले अनशसन सुरु गरेका हुन् । निर्माणकर्तासँग छलफल गरी पटक पटक सुझाव दिँदा पनि निर्माण कार्यमा भएको ढिलाई अन्त्यका लागि अनशन बसेको उनले बताएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत धुलिखेल–खावा सडक खण्ड बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्याश कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिटोभन्दा छिटो बाटो बनाउन पहल गर्ने बताएका हुन् । उनले यहाँबाट फर्केपछि निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दा छिटो बाटो बनाउनका लागि पहल गर्ने बताएका थिए । तर हालसम्म कुनै प्रगति भएको छैन ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लि.बीच २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । सम्झौता अनुसार २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्नुपर्नेछ तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ । निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको छ । यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् भने दैनिकजसो दुर्घटना हुने गरेको छ ।
काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।






