२०८३ असार ५ शुक्रबार ००

जाँचबुझ आयोगले बुझायो बालकुमारी घटनाको प्रतिवेदन

काठमाडौँ ।

बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे जाँचबुझ प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार (मन्त्रिपरिषद्ले) पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो। उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेका आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डा. तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नम्बर गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदन लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक प्रमाणको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवम् प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

घटनाको जाँचबुझका क्रममा सहयोग गर्ने सबैमा आयोगले धन्यवाद ज्ञापन गरेको छ।

२०८० फाल्गुन ४, शुक्रबार २०:४१ गते 0 Minutes 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।