बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । काठमाडौँबाट भारतको महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको बस सडकबाट तल खहरेमा खसेर भएको दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय ६ जना र एक जना नेपाली रहेका छन् भने उनीहरूको सनाखत हुन नसकेको उनले बताए । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






