काठमाडौँ ।
राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो ७ सय ८९ ग्राम फेला परेको छ ।
ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । उनका अनुसार भोलि बिहान १०ः३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ र त्यसपछि आर्थिक परीक्षणको काम थालिनेछ ।

महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्नेछ र सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताए ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।
उन्नाइस दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।

-रासस






