२०८३ बैशाख १६ बुधबार १८

चण्डेनी मा.वि.का प्र.अ. र सहायक प्र.अ.विरुद्ध यौन दुर्व्यवहारको आरोप, पक्राउ पुर्जी जारी

धुलिखेल ।

मण्डनदेउपुर नगरपालिका वडा नं. ११ जैसिथोकमा रहेको चण्डेनी मा.वि.का प्रधानाध्यापक हेमराज सिलवाल (वि.क.) र सहायक प्रधानाध्यापक बलेन्द्र भट्टमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

उनीहरुमाथि विद्यालयमा अध्ययनरत तीनजना छात्राले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनीविरुद्ध पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी समेत परेको छ । आरोपी प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले आफूहरुको जिउ सुम्सुम्याउने तथा गालीगलौज र कुटपिट गर्ने गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

शुरुमा वडा कार्यालयमा निवेदन हालेको पीडित पक्ष नगरपालिका र विद्यालय नै लागेर पिडितलाई जोगाउन लागेको भन्दै जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले आरोपित शिक्षकद्वयविरुद्ध बाल यौन दुराचारको मुद्दामा पक्राउ पुर्जी जारी गरिससकेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले आरोपी दुबैजना शिक्षकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

तीनैजना छात्राहरु अहिले विद्यालय जान सकेका छैनन् भने आज बिहानसम्म आरोपित शिक्षकहरु विद्यालयमै गएर हाजिर गरिरहेको स्थानीयले बताएका छन् । यसअघि काभ्रेको कुशादेवी माविमा कार्यरत शिक्षक छवि गौतममाथि यौन दुव्र्यवहारको आरोप लागेको थियो । गौतमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।  गौतममाथि आरोप लाग्नेवितिक्कै विद्यालय व्यवस्थापन समितिले स्पष्टीकरण सोध्दै उनलाई विद्यालयमा हाजिर नगराउने निर्णय गरेको थियो । चण्डेनी माविमा भने पीडितले जाहेरी दिएको तीन दिनसम्म पनि आरोपी शिक्षकहरु विद्यालय पुगेर हाजिर गर्नुले विद्यालय व्यवस्थापन समिति नै पीडकलाई जोगाउन लागिपरेको त हैन भन्ने प्रश्नसमेत खडा भएको छ ।

२०८० श्रावण २६, शुक्रबार १८:२३ गते 0 Minutes 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार