परीक्षा तयारी र सफलता प्राप्ति सम्बन्धमा मेरो अनुभव
जीवन निरन्तर सिकाईको प्रक्रिया हो।सिकाई ज्ञान र अनुभवबाट व्यक्तीको व्यवहारमा आउने सकारात्मक परिवर्तन हो।जिवन जिउनका लागि मानिसलाई सिकाई महत्वपूर्ण मानिन्छ।हामी सिकाइको क्रममा विभिन्न विषयमा अध्ययन गर्दछौ।अध्ययनका आ-आफ्नै उद्देश्य हुने गर्दछ।
सोही अध्ययनको उपलब्धीको लेखाजोखा/परिक्षण गर्ने एक प्रमुख प्रचलित माध्यम परिक्षा हो।जसबाट विभिन्न प्रकारका शैक्षिक निर्णय लिनका लागि सहयोग पुग्ने गर्दछ।यस्ता परिक्षा निश्चित उद्देश्य प्रक्रियामा आधारित लिखित तथा मौखिक वा दुवै हुने गर्दछ।नेपालमा अध्ययनको मापन गर्ने सबैभन्दा प्रचलित माध्यम परिक्षा रहेको सन्दर्भमा धेरै परिक्षाहरु लिखित र केही मात्रामा प्रयोगात्मक विधि पनि प्रयोगमा ल्याएको पाइन्छ।नेपालमा सैद्धान्तिक ज्ञानका आधारमा विद्यार्थीहरुको सिकाइको मुल्याङ्कन गरी विभिन्न श्रेणीमा उतीर्ण वा अनुतीर्ण के हो सो कुराको निक्यौल गर्ने प्रचलन रहेकोले विद्यार्थीहरुलाई कसरी परिक्षा तयारी गरेर राम्रो नतिजा ल्याउने भन्ने हुन्छ भने अर्कोतर्फ अभिभावकलाई पनि आफ्नो छोराछोरीको परिक्षाफल कस्तो ल्याउला पिरलो भइराख्छ।तर धेरैजसो विद्यार्थीहरु परिक्षा नजिक आएपछि तयारी गर्न थाल्ने हुदाँ उच्च मनोबलका साथ परिक्षामा सामेल हुन सक्दैन।
अधिकाशं विद्यार्थीहरु परिक्षाको तयारी कसरी गर्ने, पढेको कुरा कसरी लामो समय सम्म सम्झन सक्छ भन्ने विषयमा अलमलमा परेको पाइन्छ।मेरो आफ्नो अनुभवका आधारमा लोकसेवा तयारी र विश्वविद्यालय/विद्यायलको पढाइका साथसाथै परिक्षाको सन्दर्भमा तपशिलका विषयहरुमा ध्यान दिन आवश्यक हुन्छ।
विश्वविद्यालय/विद्यायलको पढाइ र परिक्षाको सन्दर्भमा
⦿ प्रत्येक विषयको पाठ्यक्रम के छ त्यो हेर्नुहोस्, बुझ्नुहोस्।
⦿ सो विषयसँग सम्बन्धित सामग्रीहरु खोज्ने, संकलन गर्ने र अध्ययन गर्ने गर्नुहोस्।

⦿ आफुले पढेका कुराहरु सकेसम्म आफुसँग Familiar भएका कुराहरुसँग अन्तर सम्बन्धित बनाएर पढ्नुहोस्।
⦿ पढेका कुराहरुलाई लेखेर नोट बनाउनुहोस् जसले लामो समयसम्म सम्झनका लागि सहयोग गर्दछ।
⦿ शब्दहरुलाई तस्बीर तथा दृश्यमा ढालेर पढ्नुहोस्।
⦿ आफूलाई सधै स्वस्थ राख्नुहोस्।
⦿ पढ्नका लागि घरपरिवारमा पनि उपयुक्त वातावरण बनाउनुहोस्।
⦿ पढाइलाई प्रेसरमा रुपमा भन्दा पनि रमाइलो मानेर पढ्नुहोस्।
⦿ कतिपय कण्ठस्त पार्नुपर्ने विषयहरु सुत्र बनाएर तथा अन्य विषयहरु आफूलाई जसरी पढ्दा बुझ्न सहज हुन्छ त्यसरी बुझेर पढ्नुहोस्।
⦿ पूराना प्रश्नहरु संकलन गरी ती प्रश्नहरुको समाधान गर्ने अभ्यास गर्नुहोस्।
परिक्षा कहाँ, कहिले, कुन कुन दिन, कुन विषयको हुन्छ सो कुराको यकिन गर्नुहोस् जसले विषयगत रुपमा परिक्षा तयारी गर्न सहज हुन्छ।
⦿ परिक्षाका लागि आवश्यक सामाग्री (प्रवेशपत्र, पेन, स्केल, घडी, पेन्सील) इत्यादी अघिल्लो दिन नै तयारी गरेर राख्नुहोस् ताकी भोलीपल्ट परिक्षाका दिन हतारमा ती सामान नछुटोस्।
⦿ प्रश्न संख्या र अंकभारका आधारमा समय विभाजन गरी सो प्रश्नको उत्तर सोही समयभित्रमा लेख्न्होस् र सबै प्रश्नको हल गर्नुहोस्।
⦿ प्रश्नको उत्तर लेख्दा आकर्षक ढङ्गबाट प्रस्तुतीकरण गर्नुहोस्।
लोकसेवा तयारी सम्बन्धमा मेरो अनुभव
नेपालमा पछिल्लो समयमा प्रत्येक वर्ष बजारमा ५ लाख श्रमशक्ति भित्रिने गर्दछ तर सो अनुरुपको रोजगार नपाउदा तथा सरकारी जागिरप्रतिको मोहले गर्दा लोकसेवाको तयारी गर्नेको संख्या बढ्दो रहेको छ।तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरूले सफलता प्राप्त गर्न सकेका हुदैन।यसमा मुख्यतया कसरी तयारी गर्ने, परिक्षामा कति लेख्ने तरिका नजान्दा धेरै विद्यार्थी असफल हुने गरेका लोकसेवा तयारी कक्षाका प्रशिक्षकहरु बताउछन्।यदि तपाइहरु पनि लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने मेरो आफ्नो अनुभवका आधारमा तपशिलका उपायहरु अवलम्बन गर्नुहोस् तपाई अवश्य सफल हुनुहुनेछः
⦿ पाठ्यक्रमः यसमा पनि जुन पदमा लागि परिक्षा दिने हो सो पदको पाठ्यक्रमको अध्ययन र सोही अनुरुपको तयारीमा जुट्नुहोस्।
⦿ नोट तयारः कुनै एउटा शैक्षिक सामाग्रीको आधार लिई सो संग सम्बन्धित अन्य सामाग्रीको बृहत अध्ययन गरी आफ्नो छुट्टै नोट तयार गर्नुहोस् जसले लेखन सिपमा समेत सहयोग पुग्दछ।
⦿ निरन्तरताः आफ्नो पढाइलाई जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिनुहोस् यसले तपाइको पढाइको स्तरमा परिपक्वता ल्याउन र तपाइलाई पढाइ बाहेक अन्य कुराबाट distract हुनबाट सहयोग पुग्दछ।
⦿ धैर्यताः एकपटक असफल हुदैमा पढ्न नछोड्नुहोस्, सकारात्मक बन्नुहोस्, धैर्य बन्न सिक्नुहोस्।मिहेनत र धैर्यताको फल मिठो हुन्छ।
⦿ समसामयिक विषयमा अध्यावधिक (update): लोकसेवा तयारीको अर्को महत्वपूर्ण विषय जुन पहिलो चरणदेखी अन्तिम चरण सम्ममा नै महत्वपूर्ण हुने समसामयिक विषयमा अपडेट हुनुपर्दछ।जसका लागि आधिकारिक स्रोतबाट राष्ट्रिय र अन्तराष्ट्रिय महत्वपूर्ण घटनाहरुको टिपोट गर्ने,पढ्ने गर्नुहोस्।
⦿ समयतालिका: पढ्नै पर्ने विषयलाई कुन समयमा कुन पढ्ने कति समय पढ्ने सोको समयतालिका बनाएर पढ्नुहोस् । यसले सबै वियषवस्तुलाई उत्तिकै समय दिन सहयोग पुग्छ। पढेको समयमा पढाइमा मात्र concentrate हुनुहोस्
⦿ समूह छलफलः सम्भव छ भने लोकसेवा तयारी गर्ने दुई तीन जना साथीहरुको समुह बनाइ पढेका विषयवस्तु समूहमा छलफल गर्नुहोस् यसले पढेका कुरा सम्झन र आफ्नो कमजोरी पत्ता लगाइ सुधार्नका लागि सहयोग गर्दछ।
⦿ लोकसेवा तयारी कक्षाः कुनै लोकसेवा तयारी कक्षाको मात्र भर नपरी सो कक्षालाई आधार मात्र बनाइ आफैले मिहेनतका साथ पढ्नुहोस्
⦿ समान महत्वः पाठ्यक्रममा भएका सबै विषयहरुलाई उत्तिकै महत्वमा साथ पढ्नुहोस्।कहिलेकाही नआउला जस्तो भनेको प्रश्न पनि आउन सक्छ।
⦿ स्वास्थ्यमा ख्याल राख्नुहोस्ः (समयमा खाना खानुहोस्, कम्तिमा ६ देखि ८ घण्टा निदाउनुहोस्)।परिक्षाको समयमा पढ्ने नाममा निन्द्रा मारेर नसुत्दा भोलिपल्ट दिमाग Fresh नहुने तथा स्वास्थयमा समस्या आउन सक्छ।
⦿ ऐन, नियमहरुको अध्ययन गर्दा मुल कुराहरुलाई ख्याल गर्ने तर संविधान अध्ययन गर्दा मूल भाग धारा र विषयलाई समेत ख्याल गर्नुहोस्।
⦿ पूराना प्रश्नहरु निश्चित समयमा हल गर्न प्रयास गरी आफैले स्वःमुल्याङ्कन गर्ने वा आफ्नो सिनियर कसैलाई लेखेको जाँच गर्न लगाइ पृष्ठपोषण लिने गर्नुहोस् ।यसले लेखनक लागि ठुलो सहयोग पुग्दछ।
⦿ कतिपय विषयहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन् ति विषयलाई एकिकृत गरी पढ्नुहोस्
⦿ राती अबेर सम्म बसेर पढ्नु भन्दा बिहान समयमा नै उठेर पढ्दा यसले पढेको कुरा सम्झनका लागि सहज हुन्छ।
⦿ अध्ययनको क्रममा महत्वपूर्ण लागेका कुरा सिलसिलेवार रुपमा टिपोट गर्ने र बारम्बार दोहोराएर हेर्नुहोस्।
⦿ अत्यन्त दृढ विश्वास,उतीर्णको आशा मिहेनतप्रतिको भरोसाका साथ लगनशिल रुपमा अध्ययन चिन्तन मनन छलफल र अभ्यासलाई निरन्तरता दिनुहोस्।
लोकसेवाको परीक्षामा कसरी लेख्ने
परिक्षामा यति नै र यसरी नै लेख्दा पास भइन्छ भन्ने कुनै वैज्ञानिक आधार त छैन। सबैको लेखन शैली फरक फरक हुन्छ। यद्यपी परिक्षा दिने क्रममा तपशीलका विषयमा ध्यान दिन सकेको खण्डमा तपाइको सफलतामा लागि सहयोग पुग्न सक्छः
⦿ परिक्षा सुरु हुनुभन्दा कम्तिमा ४० देखि ४५ मिनेट अघि नै परिक्षा केन्द्रमा पुग्ने र परिक्षामा आवश्यक पर्ने सबै सामाग्री (पेन, एडमिट कार्ड, स्केल, पेन्सिल, इरेजर, परिचय खुल्ने कुनै कार्ड यदि मागेको छ भने) लैजान कहिल्लै नभुल्नुहोस्
⦿ परिक्षा हलमा मनलाई सकारात्मक र शान्त बनाउनुहोस्, नआत्तिनुहोस्
⦿ प्रश्नपत्र आइसकेपश्चात प्रश्नपत्र सरसर्ती हेरी आफुलाइ एकदमै confident लागेको प्रश्नबाट उत्तर सुरुवात गर्नुहोस् ।प्रश्नपत्र राम्ररी बुझेर मात्र उत्तर लेख्नुहोस्।एउटा प्रश्न राम्ररी बुझ्नु भनेको ४० प्रतिशत उत्तर आउनु बराबर हो ।यदि लिखित पेपरमा हो भने जुन खण्डको प्रश्न हो सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुहोस्।
⦿ लिखित परिक्षामा कपीको चार वटै खण्डमा बराबर भाग छोडेर लेख्नुहोस् यसले लेखाइलाई सफा र आकर्षक बनाउछ।
⦿ सीमित समयमा प्रश्नले मागेका उत्तर लेख्नका लागि समय व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने भएकाले प्रश्नका संख्या र भारको आधारमा समय छुट्टयाई घडी हेरेर सोही समयभित्र सो प्रश्नको हल गर्नुहोस्।
⦿ प्रश्नले मागेको आवश्यकता अनुसार बुदाँगत, व्याख्यात्मक वा चित्रबाट देखाउन सक्ने कुरा चित्र मार्फत आकर्षक ढङ्गबाट प्रस्तुत गर्नुहोस्।
⦿ परिक्षामा जानेको कुरा सबै लेख्ने नभई प्रश्नले सोधेको उत्तर छोटो तथा तथ्य र तथ्याङ्क सहित शिलशिलाबद्ध रुपमा लेख्नुहोस्।
⦿ लिखित परिक्षामा उत्तरलाई तीन खण्डमा बनाउनुहोस् जसमा पहिलो खण्ड परिचय, दोस्रो खण्ड प्रश्नले मागेको विषय र अन्तिम खण्ड निष्कर्ष दिनुहोस्।
⦿ उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाई प्रश्नको उत्तर सधै सकारात्मक रुपमा प्रस्तुत गर्नुहोस्।






