प्रेरणा क्याप्छाकी मगरको संक्षिप्त जीवनी; यात्रा सफलताको, अनमी देखि अफिसर सम्मको
सामान्य परिचयः
काभ्रे जिल्लाको रोशी गाउँपालिका-०९, साविक मंगलटार गा.वि.स. वडा नं. ८ मा बुबा धन बहादुर केप्छाकी मगर र आमा कृष्ण कुमारी केप्छाकी मगरको कोखबाट वि.सं. २०५३ सालमा प्रेरणा क्याप्छाकी मगरको जन्म भएको थियो । ३ बहिनी छोरी र १ छोराको जन्म भएपछि परिवारको सबैभन्दा कान्छी सन्तानको रूपमा यस धर्तीमा आगमन भयो । आर्थिक हिसाबले मध्यम वर्गीय परिवारमा जन्मिएकी प्रेरणाको बुबा पेशाले शिक्षक र समाजसेवी समेत हुन् । दयालु स्वभावकी आमा मिहिनेती किसान र असल गृहिणी हुन् ।
सानै उमेर देखि नै उनका बुबाले शिक्षाको महत्व बुझेका र यसै क्षेत्रमा कार्यरत भएकोले आफ्ना छोराछोरीहरूको शिक्षादिक्षामा प्रतिको चासो र वास्ताको कारण पनि उनलाई हौसला मिलेको छ । सामान्य लेखपढ भएकी गृहिणी आमाको नैतिक शिक्षा, हौसला र साथ-सहयोगबाट प्रेरित क्याप्छाकी मगर कक्षा १ देखि स्नात्तकोत्तर सम्मको शिक्षामा सधैं प्रथम मात्रै भइन् । घरको काम र खेतवारीमा व्यस्त आमाले छोराछोरीहरुको पढाइमा बाधा नपुगोस् भन्ने हेतुले घरधन्दा भन्दा आफ्नो पढाइलाई प्राथमिकता दिन सधैं प्रेरित गरी रहन्थिन् ।

शैक्षिक यात्राः
वि.सं. २०५७ सालमा घरबाट नै प्रारम्भिक शिक्षा शुरू गरेकी उनले वि.सं. २०५९ सालमा गाउँमै रहेको विन्ध्यवासिनी मा.वि.मा कक्षा १ मा भर्ना हुन पाईन् । सोही विद्यालयबाट कक्षा १ देखि नै प्रथम स्थान ओगटेकी उनले वि.सं. २०६८ सालमा प्रथम श्रेणी सहित एस.एल.सी. उत्तीर्ण गरेकी हुन । उच्च शिक्षाको लागि उनी वि.सं. २०६९ सालमा घर छाडेर अध्ययन कै लागि बनेपामा गइन् । बनेपा स्थित मिलिनियम क्याम्पसमा +2 र काभ्रे हेल्थ ट्रेनिङ्ग इन्स्टिट्यूटमा अ.न.मी. मा एकै पटक भर्ना भईन् । वि.सं. २०७० सालमा दुवै विधामा प्रथम स्थान हासिल गरिन् ।
सानै उमेर देखि नै अनुशासित विद्यार्थीका रूपमा छबी बनाएकी उनी अत्यन्तै मिहिनेती र जिज्ञासु स्वभावकी छिन् । वि.सं. २०७४ सालमा स्वास्थ्य विषयलाई मुख्य बनाएर मिलिनियम क्याम्पस बनेपामा स्नातक तहको अध्ययन गरेकी उनले प्रथम स्थान सहित पास गरिन् ।
लेखपढ गर्नु, कुनै नयाँ विषयमा अध्ययन गर्नु भनेको उनको लागि अत्यन्तै रूचीको विषय हो । अध्ययनकै सिलसिलामा वि.सं. २०७८ सालमा खुल्ला विश्वविद्यालय बाट मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (MPA) पास गरिन् ।
वि.सं. २०७९ सालमा त्रिभुवन विश्वविद्यालय, पृथ्वी नारायण क्याम्पस पोखरा बाट मास्टर इन आर्ट्स (MA पोलिटिकल साइन्स मुख्य) को ४ ओटै सेमेस्टर टप गरीन् । फलस्वरूप उनको व्याजमा टपर नै भइन् र कलेजबाट सम्मान तथा नगद पुरस्कार समेत प्राप्त गरिन् ।

जागिर यात्राः
+२ शिक्षाको पढाइ सकेको लगतै इको हिमाल नेपाल नामक संस्थामा स्वास्थ्य कार्यकर्ताको रूपमा कार्यरत रही सोलुखुम्बुमा करिव डेढ वर्ष र काभ्रेको मण्डनदेउपुरमा करिव ९ महिना काम गरिन् । अत्यन्तै मिजासिलो स्वभावका उनी सहयोगी मनका धनी व्यक्तित्व पनि हुन् । सामाजिक कार्यमा खबै रूची राख्ने उनी वृद्धवृद्धको सेवामा झनै रमाउछिन् । सायद यस्तै स्वभावले होला उनी कार्यरत स्थानहरूमा बेग्लै सम्झना बनाउने गर्छिन् । उनी कार्यरत सोलुखुम्बु र काभ्रेको मण्डनदेउपुरमा पनि यस्तै नै भयो ।
+2 को पढाइ पछि सोही अवधीमा आफ्नो पढाइ सँगसँगै वि.सं. २०७३ साल चैत्रमा स्वास्थ्य क्षेत्र अन्तर्गत अ.न.मी. पदमा लोकसेवाले लिएको परीक्षामा सफल भइन् । तनहुको ऋपिङ गाउँपालिका स्थित कोटदरवार स्वास्थ्य चौकीमा सिफारिस भई २ वर्ष ६ महिना काम गर्ने अवसर प्राप्त गरिन् । सानै उमेरमा सरकारी जागिरमा प्रवेश गरेर पहिलो अनुभव बनाएकी उनले यस ठाउँमा पनि आफ्नो राम्रो परिचय दिएर कोटदरबारबाट विदा भएकी थिइन् ।
नेपाल सरकारको स्थानीय तहमा कमर्चारी व्यवस्थापनका लागि कर्मचारी समायोजन गर्ने निर्णायले उनलाई वि.सं. २०७६ असोजमा काभ्रेको नमोबुद्ध नगरपालिका स्थित श्यामपाटि स्वस्थ्यचौकीमा पुऱ्यायो । सो क्षेत्रमा अ.न.मी.को रूपमा रही २ वर्ष ६ महिना कार्यरत रहँदा धेरै विरामीहरूको उपचार गरिन् । स्वास्थ्य संस्थामा आउन नसक्ने विरामीहरूको हकमा परिवारका सदस्यले अनुरोध गर्दा खुशी भई विरामीको घरमा नै पुगी उपचार गरेको अनुभव समेत बनाउन भ्याइन् । उनको यस्तो स्वभावले यस क्षेत्रका अधिकांश मानिसहरूको आँखाको नानी बन्न सफल भइन् ।
आफ्नो कामको अलवा फुर्सदको समयमा अध्ययन गर्ने बानी बनाएका उनले वि.सं. २०७९ बैशाख ६ गते नेपाल सरकार अन्तर्गत नायब सुब्बामा आफ्नो नाम लेखाउन सफल भइन् । तत् पश्चात कारागार कार्यालय गोरखामा सिफारिस भएर प्रशासनिक क्षेत्रको पहिलो अनुभव लिन पुगिन् ।
करिव १० महिनाको बसाइ पछी वि.सं. २०७९ साल माघमा नेपाल सरकारको संघीय निजामति अन्तर्गत शाखा अधिकृतमा सिफारिस भइन् । यो उनको निम्ति अत्यन्तै खुशीको क्षण बन्न पुग्यो ।

अन्त्यमा,
लेखपढ गर्नु, कुनै नयाँ विषयमा अध्ययन गर्नु उनको लागि औधी रूचीको विषय भएपनि खेतबारी तथा घरधन्दाको काममा पनि उत्तिकै जागर चलाउछिन् उनी । अरूको दुःखलाई आफ्नो ठान्ने उनी विभिन्न संघ संस्थामा विभिन्न समयमा सहयोगी हात अघि बढाएर सहयोग समेत गर्ने गरेकी छिन् । स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेकी उनी मानव सेवामा पनि खुवै मन लगाउँछिन् । अनाथ बालबालिका, वृद्धवृद्धाहरूलाई बलाबखत सहयोग गर्दै आएकी उनी सामाजिक कार्यका साथसाथै सामाजिक एवं साँस्कृतिक अभियानमा समेत जोडिँदै आएकी छिन् ।
कडा परिश्रम र मिहिनेत गर्न सिपालु उनी यही स्वभावका कारण एक पछि अर्को सफलता हात पार्न सफल भएकी छिन् । आफ्नो पढाइ एवं रूचीहरूमा तल्लिन हुने स्वभावकी उनी सबैको नयनमा अटाएकी छिन् । आफ्नो क्षमताले भ्याएसम्म सबैलाई सहयोग गर्नुपर्छ भन्ने भनाईलाई सार्थक रूप दिन सकेकी उनी आफ्नो नाम जस्तै सबैको प्रेरणाको स्रोत बन्न पुगेकी छिन् । त्यसैले “प्रेरणा क्याप्छाकी मगर इज नट जस्ट अ नेम, इट्स ब्रान्ड” (“PRERANA KYAPCHHAKI MAGAR” is not just a name, it’s a BRAND) भन्दा पनि फरक नपर्ला ।









