काठमाडौं, पुस १९ गते ।
ब्राजिलका महान फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी क्यान्सरबाट पिडित थिए ।

Photo: https://www.aljazeera.com/
अन्तिम संस्कार अघि पेलेको पार्थिव शरीरलाई सोमबारदेखि अन्तिम श्रद्धाञ्जली दिन ब्राजिलको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दसकभन्दा बढी समय सान्तोस क्लबबाट खेलेका थिए । २४ घण्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने बताईएको छ ।
पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि साउपाउलो पुगेका छन् । श्रद्धाञ्जली कार्यक्रममा इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । उनले फिफाका हरेक सदस्य राष्ट्रले पेलेको सम्मानमा कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह समेत गरेका छन् ।

Photo: https://www.aljazeera.com/
पेलेको वास्तविक नाम एड्सन अरान्तेस दो नासिमेन्तो हो । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौं प्रशंसकहरु दुई घण्टा बढी लाइनमा बसेर सान्तोस रंगशाला पुगेका थिए । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने छ ।
तीन पटक फिफा विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १८५८, १९६२ र १९७० को विश्व कप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् । पेलेले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन् । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

Photo: https://www.aljazeera.com/
– रोयटर्स






