धुलिखेल ।
प्रोग्रेसिभ इन्जियनयर्स एसोसिएसन नेपाल (पिन) काभ्रेको दोस्रो अधिवेशन नयाँ जिल्ला कमिटी गठन गर्दै शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।
अधिवेशनले पिन काभ्रेको अध्यक्षमा श्रीकृष्ण धिताललाई चयन गरेको छ । यस्तै जिल्ला कमिटीको सचिवमा बिनिता श्रेष्ठ, कोषाध्यक्षमा सुदन चिमोरिया तथा सदस्यहरुमा युलन गौतम, फिरोज श्रेष्ठ, रुपक बडाल, आदर्श गुरागाईं, सुरेश हुमागाईं र अनिश गौतम चयन भएका छन् ।
अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बाँस्कोटाले मुलुकको समृद्धिको सपना नेकपा एमालेको नेतृत्वमा मात्रै साकार हुने भन्दै त्यसमा आफ्नो क्षेत्रबाट सघाउन र लागि पर्न इन्जिनियरहरुलाई आग्रह गरे । एमालेकै नेतृत्वमा काभ्रेमा ठूला आयोजनाहरु सुरु भएको उनको भनाई छ ।
यस्तै नेकपा एमाले जिल्ल कमिटी काभ्रेका अध्यक्ष अशोक व्याञ्जु, जिल्ला सचिव राजन भुर्तेल लगायतले नेकपा एमालेले २०६४ सालमै समृद्ध काभ्रेको खाका तयार पारेको यसलाई व्यवहारमा कार्यान्वयनका लागि इन्जिनियहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए ।
पिन काभ्रेका अध्यक्ष उज्ज्वल अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।







