२०८३ असार ४ बिहीबार २०

काभ्रे जिल्ला दुध, मासु र अन्डामा आत्मनिर्भर

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको सात वर्ष पूरा भएको छ । २०७२ सालमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । अहिले काभ्रेमा वार्षिक तीन करोड ३३ लाख ८५ हजार लिटर दूध आवश्यक रहेकामा १४ करोड ३४ लाख ४३ हजार लिटर दूध उत्पादन हुँदै आएको र वार्षिक ११ करोड ५८ हजार लिटर बढी दूध उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

केही वर्षयता जिल्लामा मासु र अन्डा आवश्यकताभन्दा बढी उत्पादन भए पनि हालसम्म जिल्लालाई मासु र अन्डा उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्न सकिएको छैन । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र काभ्रेका निमित्त प्रमुख राजकुमार हुमागाईंले कार्यविधि नबनेका कारण आत्मनिर्भर जिल्ला घोषणा गर्न नसकिएको बताउनुभयो ।

“हामीसँग मासु र अन्डामा आत्मनिर्भर घोषणा गर्न कार्यविधि पनि छैन । हामीले प्रदेशमार्फत कि सङ्घीय विभाग तथा मन्त्रालयमार्फत यो प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा अन्योल भएका कारण जिल्लालाई मासु र अन्डामा आत्मनिर्भर भएको घोषणा गर्न सकेका छैनौँ,” हुमागाईंले थप्नुभयो ।

केन्द्रका अनुसार काभ्रे जिल्लामा वार्षिक पाँच हजार १३६ मेट्रिक टन (५१ लाख ३६ हजार किलोग्राम) मासु आवश्यक रहेकामा हाल एक करोड २० लाख ८९ हजार किलोग्राम मासु उत्पादन हुने गरेको जनाएको छ । जिल्लामा एक वर्षमा आवश्यकताभन्दा छ हजार ६५३ मेट्रिक टन (६६ लाख ५३ हजार किलोग्राम) मासु बढी उत्पादन हुने गरेको छ ।

यस्तै जिल्लामा वार्षिक एक करोड ७६ लाख १० हजारवटा अन्डा आवश्यक रहेकामा हाल दुई करोड ८६ लाख २१ हजारवटा अन्डा उत्पादन हुँदै आएकामा एक करोड दस लाख ११ हजारवटा बढी उत्पादन भएको छ । केन्द्रका निमित्त प्रमुख हुमागाईंले जिल्लामा एक जना व्यक्तिलाई वार्षिक ९१ लिटर दूध आवश्यक रहेकामा वार्षिक ३९१ लिटर, मासु १४ किलोग्राम आवश्यकता रहेकामा हाल वार्षिक ३३ किलोग्राम र अन्डा वार्षिक ४८ वटा आवश्यक रहेकामा ७८ वटा अन्डा उपलब्धता रहेको बताउनुभयो ।

उहाँले पछिल्लो वर्ष जिल्लामा मासु वार्षिक तीन प्रतिशत, अन्डा दुई दशमलव पाँच प्रतिशत र दूध वार्षिक चार प्रतिशतले उत्पादन वृद्धि भएको बताउनुभयो ।

गोरखापत्र अनलाइनबाट

२०७९ भाद्र २७, सोमबार १२:२० गते 0 Minutes 421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।