२०८३ असार ४ बिहीबार १८

नर्वेली उपमन्त्री नमोबुद्धमा, विद्यालय र जैविक कृषि खेतीको अवलोकन

नमोबुद्ध ।

नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका विद्यार्थीसँग अन्तरक्रिया गरेकी छन् ।  आज उक्त विद्यालयको भ्रमण गर्दै उनले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै कोभिड १९ को महामारीले पारेको प्रभावका बारेमा जिज्ञासा राखेकी थिइन् । उनले कोरोना महामारीको समयमा विद्यार्थीसँग कसरी पढ्नुभयो ? त्यसक्रममा कस्ता समस्या आए ? लगायतका प्रश्न गरेकी थिइन् । सो क्रममा विद्यार्थीहरुले अनलाइनमार्फत निरन्तर पढाई भएको बताउँदै इन्टरनेट र मोबाइलको समस्याका कारण कतिपय समयमा पढाईमा बाधा पुगेको पनि बताए ।

दिवा खाजा कार्यक्रम, स्वास्थ्य क्लिनिक र विद्यार्थीको अनुशासन देखेर प्रभावित

नर्वेली उपमन्त्री सान्कयोर, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल लगायत नर्वेजियन राजदूतावासका उच्च अधिकारीहरुले जनकल्याण माविमा सञ्चालित दिवा खाजा कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमअन्तरगत विद्यालयमा सञ्चालन गरिएको क्लिनिक तथा विद्यालयका कक्षाकोठाको अबलोकन गरेका थिए ।

उपमन्त्री सान्कयोरले नर्वेमा समेत विद्यालयमा यस्तो किसिमको क्लिनिक नभएको भन्दै विद्यालयमा सञ्चालित स्वास्थ्य सेवाको प्रशंसा गरिन् । यस्तै विद्यार्थीहरुका लागि सञ्चालित दिवा खाजा कार्यक्रम पनि प्रभावकारी र राम्रो रहेको बताउँदै उनले विद्यालय व्यवस्थापन समिति, नगरपालिका र स्थानीय समुदायबीचको साझेदारी र समन्वय प्रशंसनीय रहेको बताइन् । उनले जनकल्याण माविका विद्यार्थीहरु एकदमै अनुशासित रहेको भन्दै खुशी समेत व्यक्त गरेकी थिइन् ।

नर्वेली उपमन्त्रीको टोलीले विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि छलफल गरेको थियो । विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले कोभिड १९ को महामारीको क्रममा अनलाइनमाफृत घरमै विद्यार्थीलाई पढाउनुपर्दा केही हदसम्म शैक्षिक गुणस्तरमा प्रभाव पारे पनि अहिले महामारी रोकिएसँगै गुणस्तरीय शिक्षा कायम गर्न, विद्यालयलाई शैक्षिक गुणस्तरमा नमुना विद्यालयको रुपमा विकास गर्न निरन्तर लागिरहेको जानकारी दिइन् ।

घरेलु प्रविधि तथा जैविक मलबाट गरिएको कृषिले उपमन्त्रीको ध्यान तान्यो

त्यस्तै उक्त टोलीले नमोबुद्ध -२ स्थित कुइकेलथुम्काको जैविक कृषि खेतीको समेत अवलोकन गरेका छन् । कुनै विषादी प्रयोग नगरी घरेलु प्रविधिबाट तयार पारेको ३ थरीका कम्पोष्ट मलबाट गरिएको खेतीलाई नमुना खेतीको रूपमा लिएका छन् । उनले अर्गानिक कृषि प्रणाली, महिलामैत्री धुँवारहित चुल्हो, बायोग्यासको प्रयोग लगायतका कार्यबाट आफू प्रभावित भएको बताइन् । नेपालस्थित नर्वेजियन राजदूतावासबाट निरन्तर समन्वय र सहयोग हुने प्रतिबद्धता पनि जनाइन् ।

जलवायु अनुकुलन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिँचाइ, छाप्रो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रणलगायतका काम भइरहेको छ ।सिंचाइको लागि बनाइएको पोखरी पनि नमुना नै थियो । सिमेन्ट, वालुवा र माटोको मिश्रणबाट बनाइएको पाेखरीमा घरको छानाबाट झर्ने पानीलाई संकलन गरिएको छ । त्यस क्षेत्रका किसानहरूलाई इसिमोड र सिप्रेड जस्ता संस्थाले सहयोग गर्दै आएको छ ।

नर्वेली उपमन्त्रीका साथै नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल, इसिमोडका महानिर्देशक पेमा ग्याम्सोलगायतले अवलोकन गर्दै कृषकसँग अन्तरक्रिया गरेका थिए । कृषकले यसअघि सिँचाइको अभावमा खेती गर्न नसकिए पनि कार्यक्रम आएपछि कृषिबाटै आत्मनिर्भर बन्दै गएको तर्क गरेका थिए । नगर प्रमुख कुन्साङ लामाले कृषिबाट महिलाहरूको आर्थिक उत्थान गर्न सकिने भन्दै त्यसका लागि निरन्तर सहयोग गर्न नर्वेली सरकारलाई आग्रह गरे । नमोबुद्ध नगरपालिकाले अर्गानिक कृषिको विकासका लागि गर्नुपर्ने आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

उपमन्त्री सान्कयोरले नमोबुद्ध–२ स्थित जनकल्याण माविका विद्यार्थीसँग कोभिड १९ को प्रभावबारे पनि छलफल गरिन् । विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गतको क्लिनिकसमेत अवलोकन गरिन् । उपमन्त्री सान्कयोरले नर्वेमा समेत विद्यालयमा यस्तो किसिमको क्लिनिक नभएको भन्दै विद्यालयमा सञ्चालित स्वास्थ्य सेवाको प्रशंसा गरिन् ।

यसअघि आज बिहान नर्वेली उपमन्त्रीको टोलीलाई नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्न बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले धुलिखेलमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नर्वेली उपमन्त्री सान्कयोरले नमोबुद्ध नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा राम्रो काम गरेको सुनेर अबलोकनमा आएको बताउँदै यसको निन्तरताको कामना गरेकी थिइन् ।

२०७९ जेष्ठ २५, बुधबार २३:४६ गते 1 Minute 622 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।