काठमाडौं, जेठ १५ गते ।
नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो ।नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि गरिएको हो । साथै राष्ट्रसेवक कर्मचारीले यसअघि पाउँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट ल्याउनुभएको हो । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ । स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ ।
संघीय आयोजनाको अनुगमन संघीय संसदले गर्ने व्यवस्था मिलाइनेछ, निजामती तथा सुरक्षा निकायमा अत्यावश्यक र प्राविधिकबाहेक नयाँ दरबन्दी थप गरिने छैन । प्रशासनिक खर्च कटौती गरिनेछ । सरकारी प्रशासनिक खर्च १५ प्रतिशतले घटाउने । न्याय, प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, निष्पक्ष, प्रविधिमैत्री बनाउन समग्र न्यायप्रणालीको विकास गरिनेछ, सुरक्षा निकायको संस्थागत क्षमता विकास गरिनेछ । आधुनिक प्रविधिको प्रयोग गरेर सीमा क्षेत्रका अपराध नियन्त्रण गरिनेछ ।






