काठमाडौँ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा विमल घर्तीमगरको निर्णायक गोलमा नेपाली फुटबल टोलीले मोरिससलाई पराजित गरेको छ । आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १—० गोलले पराजित गरेको हो । विमलले अन्जन विष्टको पासमा ५५औँ मिनेटमा उत्कृष्ट गोल गरेका हुन् ।
अनुशासनको कारबाही र घुँडाको चोटका कारण तीनबर्ष मैदान बाहिर रहेका विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमनसँगै निर्णायक गोल गरेपछि मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । विमलले यसअघि सन् २०१९ मा साफ च्याम्पियनसिपमा ढाकामा बंगलादेशविरुद्ध गोल गरेका थिए । त्यसपछि उहाँले नेपालका लागि अन्तिम पटक सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्ध खेलेका थिए ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार कूल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश दिईएको खेलमा नेपालको दुई वटा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अन्जन विष्टको दुईवटै प्रहार क्रसबारमा लागेर फर्किएको हो । पहिलो हाफमा औसत प्रदर्शन गरेको मोरिसस दोस्रो हाफमा कमजोर बनेको थियो । दोस्रो हाफको सुरुमै मोरिससका फर्नान्डो ज्याक्सनको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।
विमलको गोलसँगै नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकालेको यो पहिलो पटक हो । संयोगबस नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पनि दशरथ रंगशालामा पहिलो जित हो । नेपालले ११ बर्षअघि पोखरामा भएको मैत्रीपूर्ण खेलमा भुटानलाई पराजित गरेको थियो । निर्णायक गाले गर्न सफल विमल ‘म्यान अफ दि म्याच’ भएसँगै ७५ हजार रुपियाँ पुरस्कार पनि प्राप्त गरे ।
माघ १५ गते






