भकुण्डेबेशी ।
नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरै जना कर्मचारीहरूमा कोभिड-१९ को संक्रमण देखिएको छ ।
नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नगर प्रमुख तिमल्सिनालाई माघ १ गते संक्रमण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज मंगलबार संक्रमण पुष्टि भएको हो ।
पौडेलका अनुसार नगरपालिकामा हाल १६-१७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जनप्रतिनिधि र कर्मचारीमा संक्रमण पुष्टि भएसँगै कम्तीमा एक साता नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए । ‘कम्तीमा एक साताका लागि विभिन्न योजना र कार्यक्रमको भुक्तानीसहित अत्यावश्यकबाहेक अधिकांश सेवा प्रभावित हुनेछन्’ पौडेलले भने ।
नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्र अनावश्यक भीडभाड नगर्न, घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सजगता अपनाउन, कुनै लक्षण देखिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आजको तथ्यांकअनुसार नमोबुद्ध नगरपालिकामा ५१ जना सक्रिय संक्रमित छन् ।
-२०७८ माघ ४ गते






