२०८३ बैशाख १६ बुधबार ०८

चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरणको सेवा प्रारम्भ

भरतपुर ।

स्मार्ट लाइसेन्स नवीकरण कार्य चितवनमा आजदेखि सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् ।अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए ।

यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । जसका लागि चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिए । कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण सुरु गर्ने बताए । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको उनले बताए । यस्तै आउँदो तीन/चार महिनाभित्रमा नयाँ लाइसेन्ससमेत जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एकदिन मात्रै वीरगञ्जबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो । विसं २०६२ मा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपिएको थियो । विसं २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।

विसं २०७५ देखि सङ्घीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो । त्यति बेलासम्म सवारी साधनको बिलबुक नवीकरण र कर तिर्ने, रुट इजाजत लिने, पटकेलगायतका सेवा सञ्चालन भएको थियो ।विसं २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भए को छ । भदौ ३ गते सवारी चालक अनुमतिपत्रको समेत कार्य गर्ने गरी मन्त्रालयले कार्यादेश दिएको थियो ।

त्यसपश्चात् यही मङ्सिर ५ गतेबाट सवारी चालक अनुमतिपत्र नवीकरण ट्रायलको रुपमा सुरुआत गरिएको थियो । -गाेरखापत्र

२०७८ मंसिर १८, शनिबार ०९:५१ गते 1 Minute 609 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार