२०८३ बैशाख १६ बुधबार २०

मानव कल्याण समाज ‘सेवा घर’लाई नमोबुद्ध नगरको ३ लाख सहयोग

धुलिखेल ।
सडक मानवहरुको उद्धार र व्यवस्थापनका लागि सक्रिय मानव कल्याण समाजको सेवा घरका लागि नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरपालिकाले यस वर्षका लागि धुलिखेलमा रहेको सेवा घरलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको हो । यस बर्ष ३ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता गर्दै नगरपालिकाले आज बुधबार एक कार्यक्रमका बीच पहिलो किस्ताको रकम १ लाख ५० हजार रुपैयाँ सेवा घरलाई हस्तान्तरण गरेको छ ।नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई पहिलो किस्ताको सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । नगरपालिकाले अघिल्लो वर्ष सेवा घरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । 

सहयोग हस्तान्तरण गर्दै नमोबुद्ध नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाले बिगतमा पनि सेवा घरलाई सहयोग गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले मानव कल्याण समाजमा रहेकी एक बालिकाको अभिभावकत्व समेत ग्रहण गरेका छन् ।उनले गत वर्ष ती बालिकाको अभिभावकत्व ग्रहण गर्दै उनको अन्नप्राशनसमेत गराइदिएका थिए । तिमल्सिनाले जिल्लाका सबै पालिकाहरुबीच सहकार्य गर्दै अलपत्र सडक मानवको उद्धार र व्यवस्थापनका लागि पहल अघि बढाउने पनि बताए । यसका लागि पालिकाहरुको संयुक्त बैठक आयोजना गरिने उनले बताए ।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले पुण्य कर्म निरन्तर गर्न र त्यसमा सहयोग गर्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिँदै सेवा घरलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सडक मानवहरुको उद्धार, व्यवस्थापन तथा पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलनका लागि सेवाघरले गर्दै आएको कामको प्रशंसा गरे । मानिसहरु विभिन्न कारणले सडकसम्म आइपुग्ने भएकाले त्यसलाई न्यूनिकरण गर्दै लैजान सबै पक्ष एकजुट भएर लाग्नुपर्ने तिमल्सिनाले बताए ।कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ६ का वडा सदस्य कृष्णमणी कुईकेलले सेवा घरले सडक मानवको उद्धार र व्यवस्थापनका लागि गरेको सहयोगमा थप हौसला प्रदान गर्नका लागि अक्षयकोषको स्थापना गरेको जानकारी दिए ।कुइँकेलले अक्षय कोषलाई १ करोड रुपैयाँसम्मको बनाउने बताउँदै त्यसमा सहयोगका लागि सहयोगी दाताहरुलाई आह्वानसमेत गरे ।

कार्यक्रममा सेवा घरकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंले सेवा घरमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेको र उनीहरुको उचित व्यवस्थापनका लागि भौतिक पूर्वाधार लगायतको अभाव रहेको भन्दै त्यसमा सहयोगका लागि सबैलाई आग्रह गरिन् । नमोबुद्ध नगरपालिकाले गरेको सहयोगप्रति उनले आभार प्रकट गरेकी थिइन् ।नमोबुद्ध नगरपालिकाले सेवा घरसँगकै सहकार्यमा नगरपालिकाको भकुण्डे बजार तथा आसपासका क्षेत्रमा अलपत्र परेका आधा दर्जन सडक मानवको उद्धार गरिसकेको छ ।

–२०७८ कार्तिक १७ गते

२०७८ मंसिर १८, शनिबार ०८:०८ गते 0 Minutes 551 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार