काभ्रे ।
पृथ्वीनारायण क्याम्पस पोखरामा स्नात्तकोत्तर (M.A.). राजनीतिशास्त्र (Political Science) विषयमा प्रेरणा क्याप्छाकी मगरले चारै वटा सेमेस्टरमा कलेज टप गरेकी छिन् । क्याम्पसले यही २०७८ मंसिर १४ गते एक कार्यक्रमबीच नगद राशीको पुरस्कार सहित सम्मान गरेको थियो । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ स्थायी ठेगाना भइ हाल नमोबुद्ध नगरपालिका वडा नं. १ स्थित श्यामपाटी स्वास्थ्य चौकीमा कार्यरत प्रेरणा क्याप्छाकी मगरले पुरस्कार वापत प्राप्त गरेको रकम मगर लिपी सहितको भाषा अभियानलाई सहयोग गरेकी छिन् ।
नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक राष्ट्र भएको कारण आ-आफ्ना जात अनुसारको आ-आफ्नै भाषा, संस्कृतिहरू छन् । आफ्नो मौलिक भाषाको संरक्षण गर्नु सबैको दायित्व हुन्छ । यसै सन्दर्भमा मगर परिवार नेपालले आफ्नो भाषालाई लिपीवद्ध गरेर आगामी पुस्ताहरूमा समेत हस्तान्तरण गर्दै जाने उदेश्यले मगर लिपी सहितको भाषा अभियान शुरू गरिएको जानकारी प्राप्त भएको छ । कलेज टपर प्रेरणाले मगर लिपी सहितको भाषा संरक्षण तथा सम्बर्द्धनका लागि सबैबाट सहयोग पुगोस् भन्ने भावनाका साथ यो रकम सहयोग गरेको बताइन् ।

मध्यम वर्गीय परिवारमा हुर्केकी उनी सानै देखी जेहेन्दार एवं मेहेनती विद्यार्थी हुन् । चारै वटा सेमेस्टरमा कलेज टप गरेकी मगरलाई पृथ्वीनारायण क्याम्पस पोखराले शेर बहादुर-पुर्ण कुमारी- गणेश बहादुर गुरूङ अक्षयकोषबाट तेस्रो सेमेस्टरमा कलेज टप गरेवापत सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको थियो । सहयोगी एवं कोमल हृदय भएका उनी कक्षा एक देखि स्नात्तकोत्तरको शिक्षा हासिल गर्दा सम्म कहिल्यै दोस्रो भइनन् । गत वर्ष पनि कलेल टप गरेवापत प्राप्त रकम उनले मगर राहत कोषलाई सहयोग गरेकी थिइन् ।

उनले गरेको सहयोगको उच्च कदर गर्दै मगर परिवार नेपालले आफ्नो आधिकारिक फेसबुक मार्फत धन्यवाद ज्ञापन समेत गरेको छ ।






