काठमाडौँ ।
सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ । त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरीस्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यो पनि
देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उहाँ मुख्यमन्त्री बन्न सफल हुनुभएको हो । नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसक्नुभएको छ ।
–गोरखापत्र अनलाइनबाट






