२०८३ बैशाख १६ बुधबार २१

इजरायल रोजगारीमा आकर्षणः झण्डै २० हजारको आवेदन दर्ता

काठमाडौं ।

सरकारले इजरायल रोजगारीका लागि खुला गरेको आवेदनमा १२ दिनको अवधिमा झण्डै २० हजारले आवेदन दिएका छन् । आवेदन खुलेको २१ दिनसम्म आवेदन दिने सकिनेमा आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको वैदेशिक रोजगार विभागले जनाएको छ । प्राप्त आवेदनमध्ये तीन हजार आठ सय जनाले कागजपत्र पुर्‍याएको विभागको इजरायल शाखाका प्रमुख उपसचिव डम्बर सुनुवारले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आवेदन दिनेमा एक हजार ६ सय ५१ जना महिला र दुई हजार एक सय ६१ जना पुरुष रहेका छन् ।

एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएकोमा १२ दिनको अवधिमा चार गुणा बढी आवेदन परेको विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले बताए । उनका अनुसार रोजगारीमा जान चाहनेले विभागको बेवसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । दुवै देशका सरकार-सरकार अर्थात जिटुजीमार्फत कामदार पठाउन भएको सम्झौताअनुसार आवेदन खुला गरिएको हो ।

विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक करिब एक लाख ९३ हजार रुपैयाँ हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ ।

आवेदन दिएकामध्येबाट छनौट भइसकेपछि इजरायलमा ३० प्रतिशत अर्थात् तीन सय जना पुरुष र ७० प्रतिशत अर्थात् सात सय जना महिला गरी एक हजार जनाले रोजगारी पाउने छन् । इजरायल सरकारले पहिलो चरणमा केयर गिभर क्षेत्रमा मात्र नेपाली कामदार लिन खोजेको हो । यसपछि क्रमश कृषि, होटल, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा पनि इजरायल सरकारले नेपालीलाई रोजगारीको अवसर दिने जनाइएको छ ।

यसअघि आकर्षक सेवा-सुविधासहित मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथी अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि जान रोक लगाइएको थियो । नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी झण्डै ११ वर्षपछि खुलेको हो ।

-नेपाल प्रेसबाट

२०७८ श्रावण २४, आईतवार २२:४२ गते 1 Minute 1020 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार