२०८३ भाद्र ३० मंगलवार ०२

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

तनहुँ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए ।

“विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ”, बरालले भने । व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताए । “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकहरुले जानकारी गराउनुभएको छ तर हामीले खोल्ने अनुमति दिएका थिएनौँ”, उनले भने, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ ।”

तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा सञ्चालन गरिरहेका थिए । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए ।

-रासस

२०७८ श्रावण १९, मंगलवार ०७:१६ गते 1 Minute 1051 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।