२०८३ भाद्र ३० मंगलवार ०२

अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टिन सिंकलरको किर्तिमानी, रोनाल्डो र मेस्सीलेभन्दा बढी गोल गरे

काठमाडौँ ।

क्रिस्टियानो रोनाल्डोले गएको युरो २०२० दौरान इरानका अलि डेइको नाममा रहेको कीर्तिमान बराबरी गरे । युरोपियन च्याम्पियनसिपमा फान्सविरुद्ध दुई गोल गरेपछि रोनाल्डोको गोल संख्या एक सय नौ पुग्यो । र, यससँगै उनले डेइको नाममा रहेको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गरे । तर यो तथ्यांकले रोनाल्डोलाई पुरुष फुटबलमा मात्रै उच्च गोलकर्ता बनाउँछ । किनभने पोर्चुगिज कप्तानको भन्दा धेरै गोल गर्ने खेलाडी महिला फुटबलमा छिन् । उनी हुन्, क्रिस्टिन सिंकलर । क्यानडाको राष्ट्रिय महिला टिमकी कप्तान रहेकी सिंकलर एक सय ८७ गोल गरेकी छिन् ।

को हुन् सिंकलर ?

क्रिस्टिन सिंकलर मुलतः स्ट्राइकर हुन् । तर उनी एट्यकिङ मिडफिल्डमा पनि खेल्छिन् । उनी हाल क्यानेडियन क्लब पोर्टल्यान्ड र्थोन्सकी समेत कप्तान हुन् । ३८ वर्षिय सिंकलरले पाँच पटक विश्वकप खेलेकी छिन् । अनि ओलम्पिक फुटबलमा दुई पटक क्यानाडालाई प्रतिनिधित्व पनि गरेकी छिन् । दुवै ओलम्पिकमा उनी नेतृत्वको क्यानाडाले कास्य पदक जितेको थियो । सिंकलरले क्यानाडाका लागि कुल तीन सय तीन खेल खेल्दा एक सय ८७ गोल गर्न सफल भएकी हुन् । विश्व कीर्तिमान भने उनले जनवरी, २०२० मा राखिन् ।

कोनकाकाफतर्फको ओलम्पिक फुटबल छनौट दौरान सेन्ट किट्स एन्ड नेभिसविरुद्ध दुई गोल गरेपछि उनको नाममा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरेको कीर्तिमान बन्यो । यसअघि यो कीर्तिमान अब्बी वामबाचको नाममा थियो । अमेरिकी राष्ट्रिय टिमकी पूर्व खेलाडी वामबाचको नाममा एक सय ८४ गोल छ । सिंकलरले अरु कीर्तिमान पनि बनाएकी छिन् । उनी क्यानडाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । क्यानडाको पुरुष टिममा पनि उनी भन्दा धेरै पटक खेल्ने फुटबलर छैन । विश्व फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीमा पनि महिला नै अगाडि छन् । ती हुन्, क्रिस्टिन लिली (३५४), क्रिस्टी पियर्स (३११) र कार्ली लोयड (३११) । यी तीन खेलाडी पछि धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने सिंकलर नै हुन् ।

सिंकलरले पाँच विश्वकप खेल्दा चार पटक भने क्यानडाको कप्तानी गरिन् । विश्वकपमा चार पटक राष्ट्रिय टोलीको कप्तानी गर्नु विश्व फुटबलमा अर्को कीर्तिमान हो । उनलै पाँच वटै विश्वकपमा गोल गरेकी छिन् । उनी बोहक पाँच विश्वकपमा गोल गर्ने अर्की खेलाडी ब्राजिलकी मार्टा हुन् । सिंकलरको नाममा एउटा महिला फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि थियो । लन्डन ओलम्पिकमा उनले ६ गोल गरेकी थिइन् । यो कीर्तिमान जारी टोकियो ओलम्पिकमा नेदरल्यान्ड्सकी भिभियान्ने मिडेमाले भंग गरेकी छिन् । उनले तीन खेलमा आठ गोल गरिसकेकी छिन् ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो र मेस्सी भन्दा बढी गोल गर्ने महिला खेलाडी

रोनाल्डो र लियोनल मेस्सी भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी नौ जना छन् । तीमध्ये चार खेलाडीले सन्यास लिएका छैनन् । एलेक्स मोर्गान (१११), मार्टा (११२), जुली फ्लिटिङ (११६), लोयड (१२६), किर्गिट प्रिन्ज (१२८), लिली (१३०), मिया हाम (१५८) र वामबाच (१८४) र सिंकलरले रोनाल्डोको भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

उता मेस्सीले अर्जेनिटनाका लागि ७६ गोल गरेका छन् । पुरुषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनको स्थान नऔँ हो । सन्यास लिइनसकेका खेलाडीहरुमध्ये संयुक्त अरब एमिरेट्स (युएई) का अलि माबखौत र रोनाल्डो मात्र मेस्सी भन्दा अगाडि छन् ।

-इकाजबाट

२०७८ श्रावण १९, मंगलवार ०६:५९ गते 1 Minute 1124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।