२०८३ भाद्र ३० मंगलवार ०१

२४ घण्टामा जापानमा ८ हजार भन्दा बढी र टर्कीमा २१ हजार बढी सङ्क्रमित थपिए

जापान ।

जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ । अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो । ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका छन् । टोकियोमा लगातार पाँच दिनसम्म तीन हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका छन् ।

सोमबार टोकियोमा दुई हजार १९५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । राजधानी वरपरका प्रिफेक्चरहरू कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ सङ्क्रमित भेटिएका छन् । टोकियोमा पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश २०–३० वर्षका मानिसहरू रहेका पनि बताइएको छ । जापानको प्रधानमन्त्री कार्यालयका अनुसार ५० करोडभन्दा बढी अर्थात् जापानको करिब ४० प्रतिशत जनसंख्याले कोभिड–१९ खोपको कम्तीमा एक मात्रा लिएका छन् । जुलाई १२ मा टोकियो महामारीका कारण चौथो पटक सङ्कटकालीन अवस्थामा प्रवेश गरेको थियो । टोकियोको शहरका क्षेत्रहरूमा पैदल यात्रुहरूको चाप अलिकति कम भए तापनि कोभिड–१९ को अत्यधिक सङ्क्रामक डेल्टा फैलिएपछि सङ्क्रमण सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छ ।

टर्कीमा संक्रमण नियन्त्रण मस्किलमा

त्यस्तै कोरोना भाइरसको महामारीबाट अतिप्रभावित टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन् । टर्कीमा हालसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा टर्कीमा ९६ जनाको मृत्यु भएको छ ।

मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ । टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि एक दिनमा पाँच हजार ५३९ जना सङ्क्रमणमुक्त भएका छन् । अधिकारीहरुका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५१ हजार २२४ जनाको कोरोना परीक्षण गरिएको छ । टर्कीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको भए पनि महामारी पनि फैलिइरहेको छ । गत जनवरी १ मै चिनियाँ खोप सिनोभ्याक्स लगाउन टर्की सरकारले अनुमति दिएको थियो । चार करोड १० लाखभन्दा बढीलाई पहिलो चरणको खोप लगाइसकिएको छ । तीमध्ये दुई करोड ७० लाखले दुवै खोप लगाएका छन् ।

-गोरखापत्र अनलाइन

२०७८ श्रावण १८, सोमबार २२:३३ गते 1 Minute 663 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।