काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । काँग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुईजना मन्त्री राखेर मन्त्रीमण्डल गठन गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आउनुभएको छ ।
-रासस
नेपाली कांग्रेसले दियो क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई
नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । बुधबारको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई एक दिनको समय प्रदान गरेको थियो । समितिले केही विवाद समाधान गरी आजको बैठकमा परिमार्जनसहितको प्रतिवेदन प्रस्तुत गरेको उहाँले बताउनुभयो । यद्यपी प्रतिवेदनमा केही विवाद बाँकी नै छन् ।

बाँकी विवाद पदाधिकारी सम्मिलित नेतत्व तहले दुईरचार दिनमा समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने सहमहामन्त्री डा महतले बताउनुभयो ।
कांग्रेसले २०७७ साल फागुन ६ गते आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यहरुको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला गरेर प्राप्त भएकाले पूरै बाँकी रहेको छ । त्यस्तै सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ ।
यसमध्ये समितिले केही विवाद समाधान गरी आज प्रतिवेदन पदाधिकारी बैठकमा बुझाएको थियो । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ ।
-गोरखापत्र अनलाइनबाट






