२०८३ बैशाख १६ बुधबार १०

अब नेपालमा पनि फाइभ–जी परीक्षणको बाटो खुल्यो

काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको हो । पाँचौँ पुस्ताको नवीनतम प्रविधि मानिने फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ ।

यससँगै फाइभ–जीसहित मेसिन टु मेसिन (एमटुएम), इन्टरनेट अफ थिङ्स (आईओटी)लगायत नयाँ प्रविधिको परीक्षण गर्न चाहने सेवा प्रदायकहरूले अनुमतिका लागि प्राधिकरणमा निवेदन दिन सक्नेछन् ।
कार्यविधिले नयाँ प्रविधि परीक्षणका लागि कानुनी तयार गरिदिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । फाइभ–जीसहित नयाँ प्रविधिका लागि बजार तयार भइसकेको छ । उहाँले भन्नुभयो, कुनै सेवा प्रदायकले त्यसको परीक्षण गर्न चाहेमा अब बाटो खुला भएको छ ।

कार्यविधिले नयाँ प्रविधि परीक्षणका प्रक्रिया स्पष्ट गरिदिएको छ । त्यसका लागि सबैभन्दा पहिला परीक्षणका लागि निवेदन पेस गर्नुपर्नेछ । निवेदनमा नयाँ प्रविधिको जानकारी, परीक्षण गरिने स्थानहरू, उपलब्ध गराइने सेवाहरू, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण र नेटवर्क जडान र सञ्चालनको समय तालिका उल्लेख गरेको हुनुपर्नेछ । नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण एवं सहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । निवेदनको अध्ययन गरेर प्राधिकरणले परीक्षणको स्वीकृति प्रदान गर्न सक्नेछ ।

स्वीकृतीपछि नेटवर्क निर्माण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । नयाँ प्रविधिको परीक्षणका लागि आवश्यक पर्ने उपकरणहरू आयात तथा जडानको कार्य सुरु गर्नुपर्नेछ । यस्ता उपकरण आयातमा प्राधिकरणले भने सहजीकरण गर्नेछ । उपकरण जडान गरेपछि त्यसको जानकारी प्राधिकरणलाई गराउनुपर्नेछ । निवेदन स्वीकृत भएको तीन महिनासम्म पनि उपकरण आयात तथा जडान नभएमा स्वीकृति फिर्ता लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

उपकरण जडान गरेको जानकारी गराएपछि प्राधिकरणले परीक्षणकालको अवधि सुरु गर्नेछ । त्यस्तै त्यसका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने काम पनि प्राधिकरणले गर्नेछ । परीक्षण अवधि सकिएपछि भने प्राधिकरणले उक्त फ्रिक्वेन्सी फिर्ता लिनेछ । परीक्षणको अवधि बढीमा एक वर्षको हुनेछ । उक्त अवधिको फ्रिक्वेन्सी दस्तुर छुट हुने व्यवस्था गरिएको छ । परीक्षणका रूपमा सञ्चालित सेवाबाट सेवाप्रदायकले ग्राहकसँग शुल्क भने लिन पाउने छैनन् ।

परीक्षणको अवधि समाप्त भएपछि प्रयोग भएका उपकरणहरू फोर–जीलगायत सेवामा उपयोग गर्न सकिने भएमा प्राधिकरणबाट पुनः अनुमति लिएर प्रयोग गर्न सकिनेछ । प्रयोग नहुने अवस्थामा भने उपकरणहरू सम्बन्धित बिक्रेता (भेन्डर)लाई फिर्ता गरी प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ । त्यस्तै परीक्षणपछि विस्तृत प्रतिवेदन प्राधिकरणमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

हाल नेपाल टेलिकमले देशका प्रमख चार सहरमा फाइभ–जी परीक्षणको योजना बनाइरहेको छ । यद्यपि परीक्षणका लागि कानुनी आधार नहुँदा प्रक्रियामा केही कठिनाइ भएको प्राधिकरणले नै जनाएको छ ।

-गोरखापत्र अनलाइनबाट 

२०७८ श्रावण १३, बुधबार ०८:४६ गते 1 Minute 591 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार