२०८३ बैशाख १६ बुधबार ०९

आगामी चैतसम्म कम्तीमा तीन करोड मात्रा खोप आउने

काठमाडौँ ।

सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा. लोहनीले खोपबारे सम्बन्धित देशबाट सकारात्मक सन्देश आएको जानकारी दिनुभएको हो । त्यसबारे डा. लोहनीले थप स्पष्ट पार्दै भन्नुभयो, “असोजदेखि चैतसम्म तीन करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउनेछ ।”

अघिल्लो सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत जनसङ्ख्यालाई खोपको प्राथमिकतामा पारेको भए पनि त्यसमा बालबालिका परेका थिएनन् । अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिकासमेत गरी दुई करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा बालबालिकासमेत परेका छन् ।

असोज मसान्तभित्रै एक करोड पाँच लाख ४८ हजार मात्रा खोप आइसक्नेछ र त्यसले देशको एक तिहाइ जनसङ्ख्यालाई समेट्छ । डा. लोहनीले जापानबाट १६ लाख मात्रा एक्स्ट्राजेनिका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने बताउनुभयो । यस्तै कोभ्याक्सबाटै तीन लाख ४८ हजार डोज खोप भदौको चौथो साता नेपाल आइपुग्नेछ ।

डा. लोहनीले कोभ्याक्स र विश्व बैङ्कले खोप दिने सुनिश्चित गरेको बताउनुभयो । चीनबाट भदौ मसान्तसम्म ६० लाख मात्रा खोप नेपाल भित्रिनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीमा भारतबाट प्राप्त गर्न बाँकी १० लाख मात्रा कोभिसिल्ड खोपसमेत चाँडै आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार बालबालिकाका लागि चैत मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप आउनेछ । हालसम्म ३४ लाख पाँच हजार १५४ अर्थात् १५.८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । यस्तै १४ लाख ३० हजार ४१५ अर्थात् ६.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।

-गोरखापत्र अनलाइनबाट

२०७८ श्रावण १२, मंगलवार ०७:२६ गते 1 Minute 1012 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार