२०८३ बैशाख १६ बुधबार २२

कर्णाली राजमार्गमा पछिल्ला चार वर्षमा थप १२ वटा पक्की पुल

काठमाडौँ ।

कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।

सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।

महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् । ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब ४३ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल दुई लेनका छन् ।

तीला खोलाबाहेकका पुलको निर्माण २०७४ को जेठदेखि निर्माण सुरु भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् । तीला खोलाको पुल निर्माणका लागि २०७५ मा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । एक दशकअघि २०६३ साल चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कुल लम्बाइ २३२ किलोमिटर रहेको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त राजमार्गको सुर्खेत–जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि एक हजार पाँच सय नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

-गोरखापत्र अनलाइनबाट

२०७८ श्रावण १०, आईतवार ०८:३८ गते 1 Minute 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार