नेदरल्याण्ड ।
नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् ।
नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।
“टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,” डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्याङक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,” डीपीएका अधिकारीले भनेका छन् ।
तथ्याङ्क संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत बर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।
एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।
“डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।
बेलायतका स्वास्थ्यकर्मीको तलब वृद्धि
बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा वृद्धि गरिएको सरकारले बुधबार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा वृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले वृद्धि गरिदिएको हो ।
“स्वास्थ्यकर्मीहरुको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टिस्टलगात पनि पर्ने छन्, उनीहरुले पनि तलव वृद्धिको सुविधा पाउने भएका छन्,” सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को व्यवस्था गरिएको छ ।
कोरोनाभाइरसको महामारीविरुद्धको लडाइमा अग्रपङ्क्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा वृद्धि आवश्यक भएको एनएचएसले निष्कर्ष निकालेको हो ।
-रासस






