२०८३ भाद्र ३० मंगलवार ०२

भारतमा कालोढुसीले चार हजार तीनसय जनाको मृत्यु

काठमाडौं ।

कोभिड–१९ का सङ्क्रमितलाई मात्रै प्रायः असर गर्ने कालो ढुसीको प्रकोपले भारतमा चार हजार ३०० जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म ४५ हजार ३७४ जना कालो ढुसीबाट सङ्क्रमित भएका छन् ।

बीबीसीले भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख मान्डवीयलाई उद्धृत गर्दै सङ्क्रमित भएकामध्ये पचास प्रतिशत बिरामी अझै उपचारार्थ रहेको उल्लेख गरेको छ । चिकित्सकहरुले भने कोभिड–१९ को बिरामीको उपचारमा प्रयोग गरिने ‘स्टेरोएड’सँग कालो ढुसीको सम्बन्ध रहेको बताउँदै आएका छन् । कालोढुसीको प्रकोपलाई औषधी विज्ञानमा ‘म्यूकरमाइसिस’ भनिएको छ।

कोभिड–१९ को उपचारमा प्रयोग हुने ‘स्टेरोएड’ले फोक्सोमा हुने सूजन कम गर्न सघाउँछ । सँगै शरीरको प्रतिरक्षा प्रणालीले कोरोनाभाइरस बिरुद्ध लड्ने क्रममा हुने क्षति रोक्न सहयोग पुर्याउँछ । तर स्टेरोएडले प्रतिरक्षा घटाउँछ र चिनी रोगका बिरामीको रगतमा चिनीको मात्र बढाउँछ । उक्त विशेषताले कालो ढुसीको प्रकोप निम्तिने र चिनी रोगी तथा क्यान्सर एवम् एचआईभी पोजेटिभ हुने बिरामीमा जोखिम उत्पन्न गराउँछ ।

चिकित्सकहरुका अनुसार कालो ढुसी बिरुद्ध एक सूई नै एक मात्र उपचार छ । कालो ढुसीको प्रकोपबाट भारतको महाराष्ट्र र गुजरात राज्य सबैभन्दा बढी प्रभाबित छन् । दुबै राज्यमा कालो ढुसीको प्रकोपबाट हालसम्म एक हजार ७८५ जनाको मृत्यु भएको छ ।

बैंग्लौरस्थित एक अस्पतालमा आँखा विज्ञ भएर काम गर्नुभएका डा रघुराज हेगडेले आफूले पछिल्ला दिनहरुमा कालो ढुसीको प्रकोप भएका थुप्रै बिरामीको उपचार गरिरहेको बताउनुभएको छ । कालो ढुसीको सङ्क्रमण भएको एक सातादेखि एक महिनाभित्र सही उपचार नपाए मृत्यु भएको पाइएको उहाँले बीबीसीसँगको अन्तवार्तामा बताउनुभएको छ ।

गोरखापत्र अनलाइन 

२०७८ श्रावण ७, बिहीबार १७:२४ गते 1 Minute 511 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।