काठमाडाैँ ।
विभिन्न व्यक्तिसँग जापान पठाइदिने भन्दै रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, इलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ ।
टोक्यो ओलम्पिकका दुई खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि
टोक्यो ओलम्पिकमा सहभागी हुन ओलम्पिक गाउँमा रहेका दुई जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ओलम्पिक सुरु हुन पाँच दिन बाँकी रहँदा पहिलो पटक दुई खेलाडीमा सङ्क्रमणको पुष्टि भएको हो ।
शनिबार टोक्यो पुगेका एक जना अधिकारीमा सङ्क्रमणको पुष्टि भएको थियो । नयाँ फेला परेका दुई जना सङ्क्रमित उक्त टोलीकै सदस्य रहेको आयोजकले प्रष्ट्याएको छ । एक जना अझै खेलाडीमा सङ्क्रमणको पुष्टि भएपनि उहाँ ओलम्पिक गाउँबाट बाहिर रहेको बताइएको छ ।
आयोजकका अनुसार आइतबार ओलम्पिकसँग जोडिएका दश जनामा सङ्क्रमणको पुष्टि भएको छ । जसमा सञ्चारकर्मी, ठेकेदार र अन्य ब्यक्ति छन् । शनिबार १५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
टोक्यो शहरका सर्वसाधारणमा समेत कोरोना सङ्क्रमण हुने दर बढेको छ । लगातार चौथो दिन एक हजारभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । टोक्यो २०२० का प्रवक्ता मासा टकायाले तीन जना सङ्क्रमित फेला परेकाहरु एकै राष्ट्रका रहेका बताउनुभएको छ । उहाँहरु तीनै जना आइसोलेशनमा रहेको र नियमित हेरचाह भइरहेको प्रवक्ता टकायाले जानकारी दिनुभयो ।






