२०८३ बैशाख १६ बुधबार २३

नगरप्रमुख तिमल्सिनाद्वारा वडा कायार्लय भवन उद्घाटन, आफ्नै भवनबाट सेवा प्रदान गर्दै नमोबुद्ध ११ को वडा कार्यालय

नमोबुद्ध ।

चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका ११ को वडा कार्यालय सोमबारदेखि आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ ।

वडा कार्यालय भवनको आज सोमबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाले उद्घाटन गरेसँगै अब सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने भएका छन् । वडा कार्यालय भवनसँगै कुरुगाउँ आधारभुत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । यससँगै वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप ससहजता आउने भएको छ ।

नगर प्रमुख तिमल्सिनाले वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवनको एकसाथ उद्घाटन गरेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं. ११ को वडा कार्यालय पहिलो हो । वडा कार्यालय ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो भने ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्ता मार्फत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

नमोबुद्ध नगरपालिकाले नगरवासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को  वडा कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ ।

दोस्रो चरणमा वडा नं. २, ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षमा वडा नं. १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरुपमा निर्माणको कामसमेत सकिसकेको छ ।

वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाले एकतावद्धरुपमा नगरको विकासमा लागिपरेको बताए । सबै वडामा प्रशासकीय भवन तथा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको, मुख्य सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भएको तथा सबै वडाको केन्द्रसम्म पुग्ने सडकसमेत निर्माण भएको तिमल्सिनाले बताए ।

नगरको ऐतिहासिक दाप्चा क्षेत्रको पुननिर्माणको काम अघि बढाउन लागिएको जानकारी दिँदै तिमल्सिनाले वडा नं. ११ मा सडक, खानेपानी आदिको व्यवस्थापनमा विशेष जोड दिइएको बताए । नगरमा कृषि औद्योगिकीकरणमा पनि विशेष जोड दिइएको र सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयनमा लगिएको उनले बताए । वडा नं. ११ मै धुलिखेल अस्पतालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि कार्यसमेत सुरु गर्न लागिएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीब्ररुपमा भएको बताउँदै यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गरिन् । उनले सडक निर्माणसमेत नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको र सोहीअनुसार नगरका सबै वडामा मुख्य तथा सहायक सडक निर्माणको काम भइरहेको तामाङले जानकारी दिइन् ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरवासीले सहजरुपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण, वडा कार्यालयका साथै मोबाइल एप्लिकेसनमार्फत राजस्व भुक्तानीको व्यवस्थापन गरिएको बताए । गाउँगाउँमा सिंहदरबारको नारालाई सार्थक बनाउनकै लागि सबै वडामा कार्यालय भवन निर्माणलाई विशेष जोड दिइएको र यसले वडावासीलाई सेवा प्रवाहमा थप प्रभावकारिता आउने उनले बताए ।

यसैगरी वडा नं. १ का अध्यक्ष कृष्णवहादुर तामाङले दाप्चा सडकदेखि वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने बताए । वडावासीको साथ र सहयोगकै कारण वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उनले स्थानीय तहबाट जनताले प्राप्त गर्ने सेवा सुविधालाई सहज र सुलभ तरिकाबाट प्रदान गर्न थप मद्दत पुग्ने बताए ।

नगरपालिकाका अन्य वडाका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष कर्म ग्याल्बो लामा, वडा सदस्य भवमान तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकै अवसरमा वडा कार्यालयको दलित आयआर्जन कार्यक्रमअन्तर्गत वडामा रहेका १३ वटै दलित परिवारलाई आयमुलक कार्यका लागि ड्रिल मेसिन, वेल्डिङ मेसिन र कटिङ मेसिन वितरण गरिएको थियो । यस्तै चार बर्षसम्म वडा कार्यालय र स्वास्थ्य केन्द्र सञ्चालनका लागि घर उपलब्ध गराउने घरधनीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव शंकर भट्टराईले सञ्चालन गरेका थिए ।

२०७८ श्रावण ४, सोमबार १७:५२ गते 0 Minutes 1116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार