भकुण्डेबेशी।
पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै देशभर कोभिड-१९ संक्रमितको संख्या उकालो लागेको छ । बिनाकाम घरबाहिर निस्कने, बाहिर निस्कदा स्वास्थ्थ सुरक्षाका मापदण्ड पालना नगर्ने, भिडभाड हुने जस्ता कार्यले गर्दा नियन्त्रण हुन लागेको कोभिड-१९ पुनः फैलिन थालेको छ । विभिन्न स्थानहरूमा समुदायस्तरमै संक्रमण फैलिरहेको यो अवस्थामा पुनः लकडाउन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुन थालेको छ ।
नमोबुद्ध नगरपालिकाका वडा नं. ४ स्थित जोरसल्ला क्षेत्रमा कोभिड-१९ को संक्रमण बढेसँगै नगरपालिकाले उक्त क्षेत्र एक साताको लागि शिल गरेको छ । गाँउका केही व्यक्तिहरू विभिन्न वाहानामा बिनाकाम बजार डुल्ने, गाँउकै पसलमा स्थानीय मदिरा सेवन गर्ने, बाहिर जाँदा मास्क नलगाउने, स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने जस्ता कार्यले गर्दा गाउँमा संक्रमण बढेको गुनासो स्थानीयवासीले गरेका छन् ।

समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगर प्रमुख टि.पी. शर्मा तिमल्सिना स्वास्थ्यकर्मीको टाेली, एनटीजेन किट र औषधी सहितका स्वास्थ्य सामग्री बोकेर सो क्षेत्रका नागरिकहरूको परीक्षण गराउने काममा तल्लिन भएका छन् । उक्त टोलीले नमुनाको रुपमा बस्तीका २४ जनाको एन्टिजेन विधिबाट कोभिड–१९ को परिक्षण गरेको थियो । जसमध्ये ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । संक्रमणको दर वृद्धि भएसँगै सो क्षेत्रलाई शिल गर्ने निर्णय गरिएको हो ।
यसअघिको परीक्षणबाट कोभिड पोजेटिभ देखिएका नागरिकको घरघरमा पुगी औषधी तथा स्वास्थ्य सामाग्रीहरू वितरण गर्ने कार्य शुरू गरेका छन् । सोही क्रममा शुक्रबार नगर प्रमुख तिमल्सिना नमोबुद्ध ४ जोरसल्लाको बस्तीमा पुगे । उक्त बस्तीका धेरै मानिसमा लक्षणसहित कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको पाइएपछि नगर प्रमुखको नेतृत्वमा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीको टोली पुगेको हो ।

नगर प्रमुख तिमल्सिनाले पोजेटिभ देखिएकाहरुको घरमै पुगेर अत्यावश्यक औषधी, मास्क तथा सेनिटाइजर वितरण गरेका छन् । उनले नगरबासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै कुनै स्वास्थ्य समस्या देखिए तत्काल नगरपालिकामा खबर गर्न आग्रह गर्दै उपचारको लागि व्यवस्था गर्ने पनि बताए । आफू पनि कोभिड–१९ र त्यसपछि देखिएका स्वास्थ्य समस्याबाट मुक्त भएर हालैमात्र बाहिर निस्किएको बताउँदै नगर प्रमुख तिमल्सिनाले सामाजिक दुरी कायम गर्न, मास्क तथा सेनिटाइजर प्रयोग गर्न आग्रह गरे । आत्मबल र स्वास्थ्य सजगताबाटै कोभिड–१९ सँग लड्न सहज हुने तिमल्सिनाको भनाई थियो ।
नगर प्रमुख तिमल्सिनाले अहिले नमुनाको रुपमा परिक्षण गरिएको र केही दिनमा वृहतरुपमा परिक्षण अभियान सञ्चालन गर्ने पनि बताए । तिमल्सिनाले कोभिड १९ को संक्रमणबाट मुक्त भएका नगरबासीसँग पनि भेटघाट गरेका थिए । टोलीमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायत सहभागी थिए । टोलीमा रहेका स्वास्थ्यकर्मीहरुले कोभिड-१९ पोजेटिभ देखिएका व्यक्तिहरुलाई सचेतना जगाउने कार्यक्रमसमेत गरेको छ ।

वडा नं. ४ को प्रभावित क्षेत्र शिल
यसैबीच नमोबुद्ध नगरपालिकाले बस्तीको अवस्थाबारे बुझेर, स्थानीयवासीसँगको समन्वयसँगै नमोबुद्ध नगरपालिकाले वडा नं. ४ को प्रभावित क्षेत्र शिल गर्ने निर्णय गरेको छ । आज राती १२ः०० बजेदेखि लागु हुने गरी साउन ७ गते राती १२ः०० बजेसम्मका लागि प्रभावित क्षेत्र शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए ।
नगरपालिकाले वडा नं. ४ को जोरसल्ला, फुस्रे डाँडा, लालदेवी बस्ती, श्रीराम बस्ती, सुर्य बस्ती, सार्की टोल, कामी टोल र चिसापानी बस्ती पूर्णरुपमा शिल गरेको हो । शिलको अवधीमा औषधीपसल र स्वास्थ्य संस्थाबाहेक खाद्यान्न पसल, दूध र दुग्दजन्य पदार्थ बिक्री गर्ने पसल, मासुजन्य पसल, फलफुलजन्य पसल लगायत सबै पसलहरु बन्द गर्ने निर्णय गरिएको छ । यस्तै, बैंक तथा सहकारी लगायतका वित्तीय संस्था र अन्य कार्यालयहरु पनि बन्द रहनेछन् भने अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।
खोप अभियानको अनुगमन
नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा सञ्चालन भइरहेको कोभिड–१९ विरुद्धको खोप अभियानको पनि अनुगमन गरेका छन् । तिमल्सिनाले जनक मा.वि.स्थित खोप केन्द्र पुगेर ५५ बर्षमाथिका नागरिकका लागि सञ्चालन भइरहेको खोप अभियानबारे जानकारी लिएका छन् । उनले नगरका स्वास्थ्य संस्थाका लागि आवश्यक खोप पनि सम्वन्धित स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरे ।
लक्षित वर्गका कुनै पनि नागरिक खोपबाट बञ्चित नहुनेगरी खोप अभियान चलाउन नगर प्रमुख तिमल्सिनाले निर्देशनसमेत दिएका छन् । नमोबुद्ध नगरपालिकामा २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत अहिलेसम्म ६ हजार २ सय ५६ जनाले खोप लगाइसकेका छन् । अब खोप लगाउन बाँकी १८ बर्षमाथिका नगरवासीको संख्या २० हजार ४ सय ६७ रहेको छ ।






