२०८३ बैशाख १७ बिहीबार ००

स्वास्थ्य बीमामा ५०% शुल्क बेहोरिने गरी कामपाको बजेट पारित

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९   का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा शुक्रबार बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो ।

यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगरपालिका प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र  सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८/७९ का लागि बजेट प्रस्ताव गरेका थिए।  कामपाले आगामी आवका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको थियो । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने बजेटमा जनाइएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ । त्यसैगरी कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असूल हुन बाँकी रहेको आव २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ ।

सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाका  होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ । काठमाडौँ महानगरपालिकाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।   चालु आवका लागि भने कामपाले रु १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।

-रासस

२०७८ असार २७, आईतवार ००:२९ गते 1 Minute 719 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार