काठमाडौँ ।
सरकारी कार्यालयको खर्च अनुशासन जाँच गर्ने निकाय महालेखाको केही लेखापरीक्षकहरुले लेखापरीक्षणका क्रममा सरकारी कार्यालयबाटै बेरुजुको धम्की दिएर घुस लिने गरेको भेटिएको छ ।
महालेखाका अडिटरले प्रत्येक कार्यालयसँग पाँचदेखि ७ लाख रुपैयाँसम्म घुस माग गरेर अडिट गर्ने गरेको खुलेको हो ।
लेखापरीक्षणका लागि महालेखाबाट खटिएर रामेछाप पुगेको एउटा टोलीले एउटै स्थानीय तहबाट ६ लाख घुस लिएको पाइएको छ ।
गत बैशाखमा महालेखाका लेखापरीक्षकहरु उमेश सुवेदीसहितका तीन जना रामेछाप पुगेका थिए । त्यहाँ उनीहरुले प्रदेश अन्तर्गतका १२ कार्यालय र ८ वटा स्थानीय तहको लेखा परीक्षण गरे ।
त्यसक्रममा उनीहरुले गोकुलगंगा गाउँपालिकाबाट मात्रै कागजपत्र मिलाए बापत गैरकानूनी रुपमा ६ लाख रुपैयाँ लिएका छन् ।
घुस नदिए बेरुजु धेरै आउने र असुली अंक धेरै लेखिने हुँदा हरेक बर्ष लेखापरीक्षणमा आउनेहरुका लागि निश्चित बजेट व्यवस्थापन हुने गरेको गाउँपालिकाकै एक कर्मचारीले बताए ।
उनले भने, ‘पैसा दिएपछि असुली गर्नुपर्नेलाई पनि नियमित गर्नुपर्ने भनेर लेख्छन् । नत्र असुली लेखेपछि लेखालाई तनाव हुन्छ । त्यही भएर पैसा दिने गरेको हो ।’
लेखा शाखाका ती अधिकारीका अनुसार लेखापरीक्षकहरुले हरहिसाब राम्रोसँग राखेका स्थानीय तहसँग ५ लाख र हिसाब भद्रगोल बनाएका स्थानीयतहसँग ७ लाखसम्म असुली गर्ने गरेका छन् ।
त्यसरी लेखापरीक्षणमा खर्च हुने पैसा गैरकानूनी रुपमै संकलन हुने उनले बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘यताउता, चास्सचुस्स मिलाउने हो । ठेक्कापट्टा म्यानेज गर्दा, अरु कतैबाट आएको यताउता गरेर आएको पैसाबाट दिने गरेका छौँ ।’
लेखापरीक्षकहरुले ७७ जिल्लामै यस्तो चल्छ भन्दै हाक्काहाक्की घुस दावी गर्ने उनले बताए । रामेछापमा लेखापरीक्षण सकेर सुवेदी नेतृत्वको टोली बैशाख अन्तिम साता काठमाडौँ फर्किएको थियो ।
घुस बार्गेनिङ :
घुस अंक अनुसार सरकारी कार्यालयको लेखापरीक्षणमा बस्ने महालेखाका अडिटरले रामेछापको उमाकुण्ड गाउँपालिकाबाट पनि अडिट गरेबापत् घुस लिएको भेटिएको छ ।
उमेश सुवेदी नेतृत्वको महालेखाको लेखापरीक्षण टोलीले रामेछापको गोकुलगंगा गाउँपालिकाको लेखापरीक्षणमा कम बेरुजु र असुली लेखेवापत ६ लाख रुपैयाँ घुस अंक बुझेका थिए ।
गाउँपालिकाको लेखा शाखाले गैरकानूनी रुपमा सरकारी हिसाब मिलान गरेर अडिटरलाई घुस उपलब्ध गराएको थियो ।
गोकुलगंगाबाट ६ लाख रुपैयाँ घुससहित काठमाडौँ फर्किएको उक्त टोलीले रामेछापकै उमाकुण्ड गाउँपालिकाबाट पनि लेखापरीक्षण बापत घुस लिएको खुलेको छ ।
गाउँपालिकाको लेखापरीक्षण गरेर महालेखाका अडिटर उमेश सुवेदीको टोली बैशाखको अन्तिम साता काठमाडौँ फर्कियो ।
टोली प्रमुख सुवेदीले उमाकुण्ड गाउँपालिकाको लेखापरीक्षणमा धेरै समस्या देखिएको भन्दै कम बेरुजु लेख्नका लागि ५ लाख रुपैयाँ घुस माग गरेका थिए ।
जिल्लामै लेखापरीक्षणको काम सकेर पनि टोलीले गाउँपालिकालाई नियमअनुसार प्रारम्भिक प्रतिवेदन दिएन ।
बेरुजु परीक्षणका लागि ५ लाख रुपैयाँ घुससहित काठमाडौँमा सम्पर्क राख्न भन्दै टोली फर्कियो । गाउँपालिकाको हिसाब मिलानको जिम्मा पाएका थिए, लेखापाल गणेश घिमिरेले ।
महालेखाका अडिटरले घुस बापतको अंक नपाउँदासम्म गाउँपालिकालाई लेखापरीक्षण प्रतिवेदन दिन मानेन ।
जेठ २४ गते लेखापाल गणेश घिमिरे गाउँपालिकाको लेखापरीक्षण प्रतिवेदन लिन काठमाडौ आए ।
काठमाडौ आएपछि दुई पक्षबीच घुस अंकमा बार्गेनिङ शुरु भयो । अडिटर सुवेदी शुरुमा दावी गरेको अंकबाट पछि हटेर ३ लाख ५० हजार रुपैयाँ दिएमा कम बेरुजु लेख्न तयार भए ।
शुरुमा ५ लाख चाहिने दावी गर्ने सुवेदीलाई ३ लाख ५० हजारमा मनाउन घिमिरेसँग निकै मोलमोलाई भएको थियो ।
मोलमोलाइमै सुवेदीले अर्को प्रस्ताव राखे, दुई लाख रुपैयाँ दिएर कायम बेरुजु र असुली अंक सहितको लेखापरीक्षण प्रतिवेदन लिएर जानुहोस् ।
अन्त्यमा ३ लाख ५० हजार रुपैयाँ घुसमा लेनदेन मिलेको थियो ।
महालेखाका अडिटर सुवेदीले पनि नेपालवाचसँगको कुराकानीमा गाउँपालिकाका लेखापाल घिमिरेलाई काठमाडौँ बोलाएको र भेटेको स्वीकार गरेका छन् ।
-नेपाल वाचबाट साभार 






