२०८३ बैशाख १७ बिहीबार ००

मेलम्चीमा वैकल्पिक बाटो खोल्ने तयारी, परामर्शदाता सहितको टोली क्षतिग्रस्त स्थानतर्फ

काठमाडौं ।

बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजना मर्मत गर्न विभिन्न तयारी गरिएको छ । आयोजनाको टोली क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक खोल्न आवश्यक तयारी अगाडि बढाइएको छ । खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त ठाउँमा रहनुभएको खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँहरु केही दिनदेखि आयोजनामा रहनुभएको र बाटो नखोलेसम्म काम अगाडि नबढ्ने भएकाले त्यसको लागि निरीक्षणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

साथै, बाटो कसरी सुचारु गर्ने भन्ने विषयमा पनि स्थानीय बासिन्दासँग छलफल भइरहेको छ । क्षति गरेको तिम्बुदेखि हेडबक्ससम्म पुग्न नयाँ बाटो खोल्ने सम्मको तयारी भएको र विदेशी परामर्शदातासमेत अहिले आयोजनामै रहेको उहाँले बताउनुभयो । केही दिनदेखि मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सहित इन्जिनियरको टोली मेलम्चीको पुलबजारमा बसेर आयोजनाको काम अगाडि बढाउने तयारी गरेको छ । अझैँ पनि बाढी पहिरोको त्यस क्षेत्रमा जोखिम रहेकाले आयोजनालाई थप हुनसक्ने क्षति कम गर्न विभिन्न उपायबारेमा अध्ययन भएको आयोजनाको भनाइ छ ।

यसैगरी, आवश्यक पर्ने सडक र पुल बनाउन सडक विभाग र नेपाली सेनासँग पनि समन्वय गर्र्न छलफल अगाडि बढेको छ । मेलम्चीको बाढीले पुरिदिएको हेडबक्स मर्मत गर्न आवश्यक सामाग्री लैजान सडक र पुलको आवश्यकता पर्ने भएकाले चाँडो काम गर्ने उद्देश्यले नेपाली सेना र सडक विभागसँग कुराकानी भएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम केही दिनदेखि सुरु भइसकेको छ । स्थानीय तहले पनि बाटो केही दिनदेखि खोलिरहेको र अझै छिटो काम गर्नको लागि नेपाली सेनासँग पनि समन्वय गर्न लागिएको समितिको भनाइ छ ।

बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले बाटो खोल्न विभिन्न उपाय अपनाइएको छ । पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गर्नुपर्ने हुन्छ । भरिएको बालुवा सफा गरेको अवस्थामा भदौ, असोज महिनाको अन्तिमसम्म सुरुङमा पानी हाल्न सकिने आयोजनाको भनाइ छ ।

बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पु–याएको छ । बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचना बनाउनुपर्ने हुन्छ । हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुप्रिएको आयोजनाको अनुमान छ ।

हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव पाँच किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने तत्कालको लागि आवश्यक छ । क्षति भएको संरचना मर्मत गरेर दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने खानेपानी विकास समितिको तयारी छ ।

 

-गोरखापत्र अनलाइन

२०७८ असार २१, सोमबार २०:१५ गते 1 Minute 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार