२०८३ बैशाख १७ बिहीबार ००

कक्षा १२ को परीक्षा साउन अन्तिम साता, होम सेन्टरको सम्भावना

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गर्नुभयो । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने उल्लेख गर्दै त्यसका लागि केही दिन लाग्न सक्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्ने निर्णय नगरेकोले परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने उहाँले जानकारी दिनुभयो । यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।

होम सेन्टरको सम्भावना

कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।
शिक्षा मन्त्रालयका सहसचिव शर्माले अर्को विद्यालयमा परीक्षा दिलाउने कुरामा समस्या पर्न सक्ने आकलन आफूहरूले गरेको उल्लेख गर्दै यस विषयमा पछि निर्णय हुने बताउनुभयो । परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै होम सेन्टरका बारेमा समेत निर्णय हुनेछ । परीक्षा तीन घण्टा अवधिको हुने वा के हुने भन्ने निर्णय पनि एकैसाथ हुने जनाइएको छ । बोर्डले गत वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीको परीक्षा ४० अङ्कको डेढ घण्टा लिएको थियो ।

 

-गोरखमपत्र अनलाइनबाट

२०७८ असार २०, आईतवार १०:२३ गते 1 Minute 1190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार