२०८३ असार ३ बुधबार ०४

नारायणगढ-मुग्लिन-काठमाडाैँ सडकमा पहिरो खस्ने क्रम रोकिएन, ७ ठाउँमा पहिरो, ४ सवारी पुरिए, १ जनाको मृत्यु

चितवन ।

तीन दिनदेखिको वर्षापछि पहिरो खस्ने क्रम जारी रहँदा चितवन ट्राफिक प्रहरीले नारायणगढ-मुग्लिन सडक भएर यात्रा गर्ने तयारी गरेकाहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । निरन्तरको वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि दुवैतर्फ सवारीको लामो लाइन लागेको छ । जिल्ला ट्राफिक प्रमुख भगवानराज थापाका अनुसार आज (शनिबार) दिनभर पहिरो हटाउन लाग्ने देखिन्छ । त्यसका लागि वर्षा रोकिनुपर्छ ।

घुमाउनेमा ठूलो पहिरो झरेको छ । चौध किलो, सेतीदोभान, पाँच किलो, चार किलो, घोप्टेभीर र कुरिनटारमा पहिरो खसेको छ । हिजो विहानैदेखि ४ किलोको पहिरो हटाउने काम बेलुका ५ बजेतिर सकेर एकतर्फी सवारी सुरु गरेको २ घण्टामै पुनः सोही ठाउँमै पहिरो खसेको थियो । पहिरो हटाउन ५ वटा जेसीबी प्रयोग भएका छन् । फेरि पहिरो नखसे एकतर्फी सडक सुरु गर्न कम्तिमा ७ घण्टा लाग्ने थापाले बताए । काठमाडौं जानेआउने वैकल्पिक सडकका रुपमा हेटौडा–कुलेखानी–दामन–नौविसे, हेटौडा–भैंसे–फर्पिङ दक्षिणकाली वाइपास सडक छन् ।

यी सडक करिब ४५ किलोमिटर दुरी लामो वाइपास सडक हुन् । यहाँ ससाना गाडीमात्रै चल्न सक्छन् । यस्तै लामोदुरीका सवारीका लागि भने हेटौडा–पथलैया–वर्दिबास–सिन्धुलीनिस्केर बनेपा जान सकिने छ । पूर्वबाट आउने सवारीहरु बद्र्रिबासबाटै सिन्धुली निस्केर बनेपा पुग्न सक्नेछन् । बुटवल, भैरहवाका सवारी पोखरा निस्केर तनहुँहुदै मुग्लिन निस्केर काठ्माडौं जान सक्नेछन् ।

७ ठाउँमा पहिरो, ४ सवारी पुरिए, १ जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् । मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका-२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ । धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका-६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

 

-नेपालप्रेसबाट

२०७८ असार १९, शनिबार १०:१८ गते 1 Minute 489 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।