२०८३ बैशाख १६ बुधबार ११

ब्राजिल र इटली सेमिफाइनलमा

काठमाडाैँ ।

चिलीलाई १–० गोल अन्तरले पराजित गरी साविक विजेता ब्रजिलले कोपा अमेरिकाको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । दोस्रो हाफको सुरुमै गाव्रियल जेससले रातो कार्ड पाएपछि ब्राजिलले १० खेलाडीमा रहेर कठिन प्रतिस्पर्धा पार गरेको हो । रियो दि जेनेरियोको स्टाडियो निल्टोन सान्तोषमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रोवर्टो फिर्मिनोलाई प्रतिस्थापन गरी दोस्रो हाफको सुरुमै मैदान छिरेका लुकास पाक्वेटाले एक मिनेटभित्रै गोल गरे । चिलीको बक्सभित्र कप्तान नेइमारसँगको सुन्दर समन्वयसँगै पाक्वेटाले शानदार फिनिसिङ गरे ।

त्यसको २ मिनेटपछि नै गाव्रियल जेससले रातो कार्ड पाएसँगै ब्राजिल १० खेलाडीमा समेटियो । त्यसयता रक्षात्मक बनेको आयोजक टोलीले अग्रतालाई अन्तिमसम्म कायम राख्न निकै कठिन भएको थियो । सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्नेछ । आजै विहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गरी पेरुले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको हो । समूह चरणमा ब्राजिलले पेरुलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।

यूरो २०२० को सेमीफइनलमा इटली

विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै इटाली युरो २०२० को सेमिफाइनलमा पुगेको छ । निकोलो बेरेलाले ३१औं मिनेटमा गरेको गोलसँगै इटालीले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।

पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । इटालियन डिफेन्डर जियोभानी डी लोरेन्जोले १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमका रोमेलु लुकाकुले स्कोर लाइन २-१ मा छोट्याएका थिए । जितसँगै सेमिफाइनलमा पुगेको इटालीले बुधबार वेम्ब्ली स्टेडियममा स्पेनसँग खेल्ने छ ।

२०७८ असार १९, शनिबार ०९:३६ गते 1 Minute 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार