२०८३ बैशाख १६ बुधबार २२

तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल, आगामी हप्तादेखि ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

दोलखा ।

विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेकोमा आइतबार विहान परीक्षण सफल भएको हो । सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्रयाउने पोखरीमा पानी भरेर चरणबद्ध ढंगले ८.४ किलोमिटरको मुख्य सुरुङ र एक हजार १६५ मिटरको पेनस्ट पाइपमा पानी छोड्दै, रोक्दै अनुगमन र परीक्षण गरिएको थियो ।

यसरी पानी भर्दा विभिन्न नौ वटा चरणहरुमा इन्टेकबाट थोरैथोरै मात्रामा पानी पठाउने र अनुगमनका लागि हरेक चरणमा १२ देखि ४८ घण्टासम्म रोक्दै सुरक्षामा विशेष सतर्कता अपनाउँदै सुक्ष्म रुपमा संरचनाहरु र उपकरणहरुको परीक्षण गरिएको तामाकोशी आयोजनाको प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । पुरै सुरुङमा अन्तिम पटक आइतबार विहानसम्म ४८ घण्टा पानी राखेर परीक्षण गर्दा पानी नचुहिएपछि सुरुङ परीक्षण सफल भएको उहाँले बताउनुभयो ।त्यस पश्चात पहिलो युनिटको साेक टेष्ट गरि २४ घण्टा सम्मका लागि अवलोकन तथा अनुगन भइरहेको छ ।

त्यसैगरी, उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्नका लागि रामेछापको फुलासिस्थित २२०/१३२ केभिको सवस्टेशनमा जोड्न चार वटा मल्टीसर्कीट टावरहरुमा तार टाग्ने कार्य भइरहेको छ । सो कार्यका लागि आइतबार विहानबाट नेपाल विद्युत प्राधिकरणले खिम्ति लामोसाँगु १३२ केभिको प्रसारण लाईन सर्टडाउन गरेर काम गरिरहेको छ । मल्टिसर्कीट टावरहरुमा तार टाग्ने काम करिब तीन दिनमा सकिने र आवश्यक परीक्षणहरु गरेपछि आगामी हप्ताको सुरुदेखि पहिलो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमार्फत वितरण हुने प्रवक्ता डा, न्यौपानेले बताउनुभयो ।

आयोजनामा ७६–७६ मेगावाटका छ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएको एक हप्तापछि दोस्रो युनिट सञ्चालनमा आउने र आगामी भदौ भित्र सबै युनिटबाट विद्युत उत्पादन हुने उहाँले बताउनुभयो ।

 

-गोरखापत्र अनलाइनबाट

२०७८ असार १३, आईतवार १८:५१ गते 1 Minute 1041 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार