मेलम्ची ।
अघिल्लो साताको अविरल वर्षाका कारण मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको थियो । पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो । सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको वहाब बढेको छ । गएरातिदेखि पानी परेकाले खोलामा पानीको वहाब बढेको हो । मेलम्ची-११ का गोपाल दुलालको आज तीन तले घर ढलेको छ । असार १ गतेको बाढीपछि घर ढल्ने अवस्थामा थियो । गएरातिदेखिको पानी परेपछि उक्त घर आज बिहान ढलेको हो ।
असार १ गतेपछि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले चार सय परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी तीन सय ३७ वटा घर र ६० वटा गोठ, छ वटा मोटरेवल पुल र १३ वटा झोलुङ्गे पुल बगाएको छ ।
यसै गरी हेलम्बु-२ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने दुई वटा विद्यालय (सरस्वती मावि हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् । नदी किनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको छ ।







