पनाैती ।
काभ्रेको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रालि निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगमा लोगो प्रयोग गर्ने नेपालको पहिलो निजी डेरी उद्योग रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले यस वर्षदेखि दुग्ध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतिक चिन्ह (लोगो) राख्ने व्यवस्था गरेको हो ।
शुक्रबार एक कार्यक्रममाबीच पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रालिका सञ्चालक रविन्द्र हुमागाँईलाई लोगो हस्तान्तरण गर्नुभएको हो । लोगो हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले पशुपालन व्यवसायको प्रर्वद्धन तथा विकासका लागि भैँसी संरक्षण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गरेको भैँसी संरक्षण कार्यक्रमको प्रतिफल राम्रोसँग आउन अझै एक/दुई वर्ष लाग्ने बताउनुभयो । कार्यक्रममा नेपाल डेरी एसोसियसनका महासचिव पल्हाद दाहालले एसोसियसनले १२ वर्षदेखि दुग्ध तथा दुग्धजन्य पदार्थ ढ्ुवानी गर्ने सवारी साधनमा लोगो राख्न गरेको अनुरोध यस वर्ष पुरा भएको बताउनुभयो ।
उहाँले नेपालमा निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगमा लोगो प्रयोग गर्ने हिमालयन डेरी पहिलो रहेको बताउनुभयो । उहाँले यसअघि दुग्ध विकास संस्थान (डिडिसी)का १५ वटा सवारीमा लोगो प्रयोग गरिएको बताउनुभयो । उहाँले लोगोका लागि देशका विभिन्न ३८ उद्योगले आवेदन दिएपनि अधिकाँशमा प्रक्रिया तथा कागजपत्र नपुगेको बताउनुभयो । उहाँले देशका सबै दुग्ध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारीमा लोगो प्रयोगलाई बढावा दिइने बताउनुभयो । उहाँले लोगो प्रयोग गरेका सवारीले लोगोको दुरुपयोग गरेको खण्डमा लोगो जफत समेत हुने बताउनुभयो ।
महासचिव दाहालले देशभर दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेको र त्यसमध्ये ५० प्रतिशत अर्थात् ३१ लाख लिटर दुध मात्रै बजारमा आउने गरेको बताउनुभयो । बजारमा आउने दुधमध्ये १७ प्रतिशत मात्रै ब्राण्डिङ हुने गरेको बताउनुभयो । उहाँले दैनिक छ करोड रुपियाँ शहरबाट गाउँमा जाने र पाँच लाख भन्दा बढी किसान पशुपालनमा रहेको र त्यसबाट प्रत्यक्ष रुपमा ३० हजारले रोजगारी पाएको बताउनुभयो । दुग्ध तथा दुग्धजन्य क्षेत्रमा ३० अर्ब निजी क्षेत्रको लगानी रहेको छ । महासचिव दाहालले नेपाल दुधमा ८० प्रतिशत आत्मनिर्भर रहेको बताउँदै नेपालमा दुध उत्पादन १२ प्रतिशतले बढेको बताउनुभयो ।
उहाँले दुध तथा दुग्धजन्य पदार्थको काम गर्ने उद्योगहरुमा साढे तीन वर्षदेखिको पाउडर दुध र बटर मौज्दात (स्टक) रहेकोले उद्योगहरुले कृषकहरुलाई दुधको भुक्तानी दिन नसकेको बताउनुभयो । उहाँले उद्योगहरुले ऋण थप गर्न सरकारसँग माग गरेपनि त्यो काम हुन नसकेकोले कृषकहरुलाई रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो । उहाँले नेपालमा विदेशबाट आउने पाउडर दुधको आयात रोकिएको बताउँदै सफ्ट लोन पाँच करोडबाट बढाएर दश करोड बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र अधिकारी, कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणीप्रसाद सापकोटा, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, बरिष्ठ उपाध्यक्ष मधुसुदन गुरागाँई, सचिव महेश पौडेललगायतको उपस्थिती रहेको थियो ।






