२०८३ बैशाख १६ बुधबार २२

नेप्से उच्च अङ्कले घट्दा लगानीकर्ताले ९८ अर्ब गुमाए

काठमाडौँ ।

नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ ।

आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण आजको कारोवारपछि घटेर रु ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यस आधारमा आइतबारको तुलनामा आज मात्रै बजार पूँजीकरण रु ९८ अर्बले घटेको देखिन्छ ।

नेप्सेको विवरण अनुसार गत जेठ ३१ गते नेप्से परिसूचक तीन हजार बिन्दु माथि पुग्दा बजार पूँजीकरण हालसम्मकै सर्वाधिक रु ४२ खर्ब १६ अर्ब बराबर पुगेको थियो ।

सोमबार ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ८.३७ बिन्दुले घटेर ५२०.१८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर रु ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ मा खरिद बिक्री भए ।

कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.२२, व्यापार २९.६३, होटल तथा पर्यटन १६५.८३, विकास बैंक २१०.२१, जलविद्युत् १५०.२४, वित्त १२०.२२, निर्जीवन बीमा ४२९.६३, उत्पादन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, जीवन बीमा ४५१.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ०.५२ अङ्कले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल पुरनबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ बराबरको कारोवार भएको छ । यस्तै, एचआइडिसिएल रु ३१ करोड सात लाख २३ हजार २२१, नागरिक लगानी कोष रु २९ करोड ६१ लाख ७९ हजार ९१३, नेशनल हाइड्रोपावर रु २८ करोड ४४ लाख ७३ हजार ७५० र हिमालयन डिस्टिलरी रु २४ करोड ८७ लाख ४६ हजार ९३० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

उच्च अङ्कले घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक ९.९७, एचआइडिसिएल ४.३३, एनबिबिएल डिवेञ्चर ३.६५, एसबिएल डिवेञ्चर दुई र नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताले दुई प्रतिशतले कमाए । त्यस्तै, पोखरा फाइनान्स ९.२६, यूनिभर्सल पावर ९.१२, यूनियन हाइड्रोपावर ८.८१, हिमाल दोलखा हाइड्रोपावर ८.६२ र लिवर्टी इनर्जीका लगानीकर्ताले ८.५२ प्रतिशतले गुमाए ।

 

गोरखापत्र अनलाइनबाट 

२०७८ असार ८, मंगलवार ०६:५६ गते 1 Minute 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार