२०८३ बैशाख १६ बुधबार २२

श्रम गन्तव्य मुलुकमा हवाई उडान: सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी

काठमाडौँ ।

श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिनुभयो । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उहाँले थप्नुभयो ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।

सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ । अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्यारो नहुने सीसीएमसीले जनाएको छ ।

खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द हुनासाथ श्रमिक फर्काउन वैकल्पिक उडान खुलाउन सरकारसँग आग्रह गर्दै आउनुभएको थियो । उहाँहरूले कोरोनाका कारण मात्रै नभई रोजगारीका क्रममा ज्यान गुमाएकाको शव, करार अवधि सकिएका, आममाफी पाएका र अन्य समस्यामा परी रोकिएका श्रमिक पर्काउन सरकारले सहज वातावरण बनाउनुपर्ने माग गर्दै आउनुभएको थियो ।

 

गोरखापत्र अनलाइनबाट

२०७८ असार ७, सोमबार ०९:५४ गते 1 Minute 712 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार