धनगढी ।
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।
तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।
======
पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ। शनिबार राति दुई बजेतिर दुई लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको सतह बिहानैदेखि वर्ष रोकिएकाले घट्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उनका अनुसार बिहान ८ बजेतिर घटेर दुई लाख २३ हजार क्युसेकमा झरेको पानीको सतह अहिले दुई लाख १३ हजार क्युसेक पुगेको छ । नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका-१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाकी कार्य समिति सदस्य कोमल उपाध्यायले ८ परिवार पूर्णरुपमा विस्थापित भएको र कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ७० घर भित्र पानी पसेर आशिंक क्षति भएको बताइन् । आइतबार बिहान प्रभावित क्षेत्रमा स्थलगत अनुगमनमा पुगेकी उपाध्यायले पानी पसे पनि उनीहरु घरभित्रै बसिरहेको बताइन् । अहिले पानीको बहाव घट्दै गएका कारण ठूलो क्षति भने नभएको र नेपाल रेडक्रस सोसाइटी पनि उद्दारको काममा जुटेको उनले बताइन् ।
अनलाइन खवरबाट






