काठमाडौं ।
निरन्तर वर्षाकाे कारण दोलखाको तामाकोशी नदी आसपास क्षेत्रमा जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।छिमेकी मुलुक चीनमा निरन्तर वर्षा भइरहेका कारण तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।
‘अहिले अवस्था ठिक छ । पानीको बाहव बढेको छैन । तर चीनमा निरन्तर रुपमा वर्षा भइरहेको भन्ने सूचना आएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले नदी आसपासका बासिन्दालाई सतर्क अवस्थामा रहन आग्रह गरिएको छ । जुनसुनै बेला जे पनि हुन सक्छ । जोखिम कायमै छ । हामी सतर्कता अवस्थामा बसेका छौं ।’
नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा शुक्रबार रातिदेखि भारी वर्षा भइरहेको सूचना चीनको टिङ्लिकाउटीका सुरक्षा गार्ड इन्चार्जले जानकारी दिनुभएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
‘दोलखा क्षेत्रमा वर्षा नभएको तर सीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार तामाकोशी नदिको उद्गममा चाइनको फालक र जाप्सिङ लगातय विभिन्न नदीहरु मिसिन्छन् । त्यसमध्ये एउटा नदी नेपालतर्फको ६० र ६१ नम्बर पिलरको बीचबाट बग्छ । त्यो नदी क्षेत्रमा शुक्रबार राति आँधिबेरीसहित वर्षा र पहिरो आएर पानीको बहाव रोकिएको थियो ।
‘रातिनै चीनको टिङ्लि काउन्टीका सुरक्षा गार्ड इञ्र्चाजले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फोन गरेर यहाँ पानीको बाहव रोकिएको छ । हावाहुरीसहित वर्षा भइरहेको छ । थप खतरा भयो भने जानकारी गराउँछु । अहिले सतर्क रहन आग्रह गर्नुभएका थियो,’ उहाँले भन्नुभयो ।
चीनबाट सतर्क हुन खबर आएलगत्तै मेलम्चीको जस्तो घटना पुनः नदोहोरियोस् भनेर राति सूचना जारी गरेको जानकारी दिएको उहाँले भन्नुभयो । शनिबार बिहानसम्म तामाकोशी नदीमा मेलम्चीको हिलो, लेदोसहितको पानी भने नबगेको उहाँले बताउनुभयो ।
गोरखापत्र अनलाइन






