मनाङ ।
मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अविरल वर्षासँगै आएको बाढीका कारण अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए ।
‘मगलबारदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ प्रजिअ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उहाँहरुको रेस्क्यू गर्ने योजना छ ।’ प्रजिअ लामिछानेले फू जस्तै मनाङका ओडार, ताल्चै गाउँमा फसेकाहरुको उद्धार गर्न बाँकी रहेको बताए । ‘ओडारमा अलपत्र परेकाहरु जंगलमा बसेका छन् । उनीहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं ।
तर, मौसम खराबीले गएको हेलिकप्टर पनि फर्किनुपर्यो’ उनले भने । उनले बिहीबार ३५ जनाको मात्रै उद्धार गर्न सकिएको जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमध्ये २४ जना सिरान तालका मात्रै छन् । चार दिनदेखि लगातार परिरहेको पानीका कारण मनाङमा १ हजार बढी विस्थापित भएका छन् । विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।
मुख्यमन्त्री पनि मनाङमै रोकिए
मनाङका बाढी पीडितको उद्धार तथा स्थलगत निरीक्षणका लागि बिहीबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहितको टोली मनाङ गएको थियो । तर, दिनभर मौसम खुल्न नसक्दा उनीहरु उतै रोकिएका छन् । मुख्यमन्त्रीको टोली गएको हेलिकप्टर उद्धारका लागि मनाङमै रोकिएपछि पोखराबाट अर्को हेलिकप्टर मगाएर फर्किने योजना थियो । तर, मौसममा आएको खराबीले पोखराबाट गएको हेलिकप्टर ल्यान्ड गर्न नसकी पोखरा नै फर्किएको थियो ।
मुख्यमन्त्री नेपालीको टोली बिहीबार उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टरमा मनाङ पुगेको थियो । टोलीमा प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ र सांसद चिन्तबहादुर घलेसहित छन् । हेलीमा मुख्यमन्त्रीको टोलीसँगै उद्धार गरिएको २६ जनाको टोलीमा पोखरा फर्किँदै थियो । ‘स्थानीय १२ जना बाढी पीडितलाई उद्धार गरेर पोखरा ल्याइँदै थियो, उनीहरु बालबालिका, गर्भवती, दीर्घरोगी थिए ।केहीबेर उडेर पनि मौसममा सुधार नभएपछि फेर सुरक्षित नै चामे फर्कियौं’ टोलीमा सहभागी एक पत्रकारले भने ।
अनलाइन खवरबाट






