काठमाडौं ।
बाढीबाट आहात बनेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुवासीका लागि राहत तथा सहयोग जुट्ने क्रम सुरु भएको छ । काठमाडौंवासीको प्यास मेटाएर गुन लगाएको मेलम्चीवासीको मन फाटेर दुखेको बेला काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाको बैठकले राहत, उद्धार र पुर्ननिर्माणका लागि यो रकम उपलव्ध गराउने घोषणा गरेको हो ।
काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रवक्ता राजाराम पुर्णासैनीका अनुसार मेलम्ची नगरपालिका र हेलम्बु गाउँ पालिकाको विपत राहत कोषमा १०/१० लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय कागेश्वरी मनोहरा नगरपालिकाले गरेको हो । यसअघि काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि ३ लाख ३ हजार ३३ रुपैयाँ आर्थिक र खाद्यान्न सहयोग गरिसकेको छ । नामोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाका अनुसार पालिकाले पीडित परिवारका लागि ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको छ ।






