२०८३ बैशाख १६ बुधबार १९

मेलम्चीको चोट सहन सकेन नमाेबुद्धले,३ लाख ३ हजार ३ सय ३३ आर्थिक सँगै खाद्यान्न सहयोग

काभ्रे ।

नेपालमा मनसुन शुरू भएसँगै निरन्तर वर्षा भइरहेको छ । यसको अधिकतम प्रभाव सिन्धुपाल्चाेकमा देखिएको छ ।  गत मंगलबार राती यांग्री र मेलम्ची खोलाको बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । धेरैले ज्यान गुमाए भने अझै कतिपय वेपत्ता नै छन् । लेदो मिसिएको बाढी बजार पसेपछि दुइसय भन्दा बढी घर जोखिममा छन् । स्थानीयका दैनिकी देखि विहान बेलुकीको खान्कीसमेत प्रभावित भएको छ ।

मेलम्ची नगरपालिकामा बाढीले तहसनहस बनाएको खबर सार्वजनिक भएलगत्तै नमोबुद्धले बुधबार नै सहयोगको निर्णय गरेको थियो । उक्त निर्णयको भोलीपल्ट बिहीबार बिहानै मेलम्ची पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल नेतृत्वको टोलीले नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाका साथै नगरको प्रकोप व्यवस्थापन विशेष कोयषबाट ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर वहादुर अर्याललाई हस्तान्तरण गरे । यससँगै उनले नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले पठाएको लिखित सन्देशसमेत मेलम्ची नगर प्रमुख अर्याललाई हस्तान्तरण गरेका थिए ।

नमोबुद्ध नगरपालिका प्रमुख तिमल्सिनाले बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट पुगेको क्षतिबाट नमोबुद्ध नगरपालिका र नगरबासीलाई मर्माहत बनाएको भन्दै विपदको समयमा साथ दिने उद्देश्यले सहयोग गरिएको बताए । मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ भन्दै नगर प्रमुख तिमल्सिनाले विपदको समयमा नमोबुद्ध नगरपालिका सदैब मेलम्चीको साथमा रहेको पनि आफ्नो सन्देशमा उल्लेख गरेका छन् । उनले बेपत्ता भएका नागरिकको तीब्ररुपमा खोजी कार्य अघि बढाउन, आहातमा परेका नागरिकलाई थप राहतको व्यवस्थ ागर्न र क्षति भएका सम्पूर्ण संरचनाको पुननिर्माण गर्न प्रदेश तथा संघीय सरकार लगायतका सम्वन्धी निकायलाई अपिलसमेत गरेका छन् ।

नमोबुद्ध नगरपालिकाको सहयोग बुझ्दै मेलम्ची नगरपालिका प्रमुख अर्यालले आफूहरुको दुःखमा साथ दिएकोमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनासहित नगरपालिका परिवारप्रति आभार प्रकट गरे । नगरपालिकाले निर्माण गरेका र निर्माणाधीन अवस्थामा रहेका नगरको गौरवका अधिकांश आयोजनामा बाढीले क्षति पुगेको जानकारी दिँदै उनले विपद व्यवस्थापन र पुननिर्माणबारे छलफल सुरु भइसकेको बताए । उनले नमोबुद्ध नगरपालिकाको तर्फबाट प्राप्त सहयोगको पूर्णरुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको नयाँ अभ्यासले आफूहरुलाई धेरै हदसम्म राहत महसुस भएको बताए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्धका तर्फबाट मेलम्चीको दुःखमा थोरै भए पनि मल्हम लगाउन सकियोस् भन्ने उद्देश्यसहित सहयोग गर्न आइपुगेको बताए । उनले आगामी दिनमा पनि दुई नगरपालिकाबीचको सहकार्यलाई निरन्तरता दिने बताए  । यस्तै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले सहयोग गर्न आइपुगेको नमोबुद्धको टोलीप्रति आभार प्रकट गर्दै यसले विपदमा परेका नागरिकको राहत र उद्धारका लागि ठूलो टेवा पुगेको बताए ।

नगदसँगै राहतपनि

नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोगसँगै खाद्यान्नसमेत सहयोग गरेको छ । नमोबुद्धले ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको छ । मेलम्ची नगरपालिकामा बाढीबाट विस्थापित नागरिकहरु स्थानीय इन्द्रेश्वरी माध्यामिक विद्यालयमा बसिरहेका छन् । मेलम्ची नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरणको व्यवस्था मिलाएको छ । विद्यालयमा पीडितहरुका लागि खाने बस्ने लगायतका सुविधा प्रदान गरिएको छ । मेलम्ची नगर प्रमुख अर्यालले नगरपालिकाभित्र २५ करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी दिएका छन् ।

२०७८ असार ३, बिहीबार १५:५४ गते 0 Minutes 943 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार