२०८३ बैशाख १६ बुधबार १९

मनाङमा एकसय भन्दा बढी घर बाढीका कारण विस्थापित

लमजुङ ।

अविरल वर्षा पछिको बाढीले हिमाली जिल्ला मनाङको एकसय बढी घर विस्थापित भएका छन् । सोमबारदेखि निरन्तर परेको अविरल वर्षापछि आएको बाढीले सदरमुकाम चामेबजारका करिव ६० घर र नासों गाउँपालिका १ तालगाउँका ४८ घर विस्थापित भएका हुन् । चामेबजार तल रहेको मस्र्याङदी नदीमा पानीको बहाव बढेर आएको बाढीले बजारका करिव तीनसय नागरिकलाई मनाङको नवनिर्मित भवनमा सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार मस्र्याङदी नदी नजिक भएका र बाढी पसेका घरका नागरिकलाई सारिएको हो। ‘सोमबारदेखि ठूलो पानी प¥यो । मंगलबार विहान वस्तीमै बाढी पस्यो । अधिकांश घर जोखिममा प¥यो । बजारपारीको तातोपानी कुण्ड क्षेत्रको ५ वटा घर पूर्ण रुपमा डुबानमा छ’ उहाँले भन्नुभयो, ‘पानी परिरहेकाले झन् जोखिम बढ्ने भएकाले सुरक्षित ठाउँमा राखेका छौं ।’

चामेबजार पारीको ५ घर डुबानमा परेको उहाँले बताउनुभयो । यस्तै, नासों गाउँपालिका १ को तालगाउँका ४८ घरनै डुबानमा परेको छ । २५ घरको पहिलो तल्लासम्म पानी परेको छ । अन्य घरमा पनि पानी पसेको स्थानीयले बताएका छन् । स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु स्थानीय सिरानताल, म्यार्दीतिर गएर बसेका छन् । मस्र्याङदी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्तीमाथि डुबाउँदै आएको स्थानीय मिनराशी गुरुङले बताउनुभयो । नागरिकको उद्धारका लागि प्रहरी, सेना खटिएका छन् । उनीहरुले स्थानीयलाई सुरक्षित ठाउँमा लैजाने काम र सामान ओसार्ने काम गर्दै आएका छन् ।

स्थानीयका अनुसार गाउँसँगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ । बाढीका कारण विजुलीका पोलहरु ढलेको छ । विजुली अवरुद्ध भएको छ । टेलिफोनमा पनि समस्या आएको प्रशासनले जनाएको छ । वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत पनि बगाएको स्थानीयले बताएका छन् ।

गोरखापत्र अनलाइनबाट

 

२०७८ असार १, मंगलवार १८:१६ गते 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार