इटहरी ।
अहिले देशैभर नयाँ बजेटको चटारो परिरहेको छ । सातै वटा प्रदेशमा नीति तथा कार्यक्रमहरू धमाधम बनाउने प्रक्रिया जारी नै छ । यसै शिलशिलामा कुनै प्रदेशमा निकै कठिनाइकासाथ नीति तथा कार्यक्रमहरू पारित भएका छन भने कतै पारित नै हुन सकेको छैन ।
एमाले भित्र लामो समयदेखि चलिरहेको विवादका कारण मुलुक नै अन्योल भइरहेको अवस्थामा प्रदेश १ का एमाले भने एकैढिक्का बनिरहेको छ । जसको परिणाम जेठ २७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज प्रदेशसभाबाट सहजै पारित भएको हो । ९३ सदस्य रहेको प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् ।
नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने अघिल्लो दिन मुख्यमन्त्री राई र माधव नेपाल पक्षीय नेता भिम आचार्यबीच संवाद भएको थियो । आचार्यले पार्टी केन्द्रमा जे भए पनि आफ्नो समुहले सरकारलाई साथ दिने बताएको स्रोतको भनाइ छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले संसोधन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई प्रदेश सरकारले अपनत्व लिने बताउँदै मुख्यमन्त्री शेरधन राईले फिर्ता लिन आग्रह गरेकोमा जनता समाजवादीले मात्रै फिर्ता लिएको थियो । जसपा नेता जयराम यादवले उठाएको चुरे क्षेत्रसँग सम्बन्धित मुद्धा समेट्न गरेको आग्रह मुख्यमन्त्रीले स्वीकार गरेका थिए ।
जेठ २७ गते बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलमा ३२ सांसदले धारणा राखेका थिए ।
प्रदेश १ सरकारले आगामी असार १ गते बजेट ल्याउँदैछ ।







